धरान / बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका परिकल्पनाकारसमेत रहेका इन्द्र लामिछानेको स्मृतिमा हुने इन्द्र बराह स्मृति एमेच्योर खुल्ला गल्फ टुनामेन्टको चौथो संस्करण माघको पहिलो साता हुने भएको छ ।
बराहको प्रायोजनमा हुने प्रतियोगिता यो पटक माघ ६ गते हुने आयोजक धरान गल्फ क्लवले जनाएको छ ।  प्रतियोगितामा देशभरका ४० एमेच्योर गल्फरहरुले स्पर्धा गर्ने क्लवले जनाएको छ । निर्वाणा कन्ट्री क्लव तथा गल्फ रिसोर्टको गल्फ कोर्षमा हुने प्रतियोगिता स्ट्रोक प्लेका आधारमा हुने छ । १८ होल पार ७० को खेलमा विजेताले ट्रफीसहित १० हजार रुपैया पाउने आयोजकले जनाएको छ ।
त्यस्तै दोस्रोले ६ हजार रुपैया, तेस्रोले ३ हजार ५ सय प्राप्त गर्ने क्लवका अध्यक्ष पूर्ण लिम्बूले बताए । त्यस्तै बेष्ट ग्रसले ४५ सय बराबरको गिफ्ट भौचर, लङ्गेष्ट ड्राइभ, नियरेष्ट टु दी पिन र मोष्ट बर्डिजले जनही २ हजार रुपैया बराबरको गिफ्ट भौचर र ट्रफी पाउने छन् ।  प्रतियोगितामा रोयल नेपाल गल्फका एमेच्योर गल्फरहरुलाईसमेत आमन्त्रण गरिएको क्लवले जनाएको छ ।
एमेच्योर गल्फर इन्द्र लामिछानेको स्मृतिमा र गल्फ खेलको विकास गर्ने उद्देश्यले बराहले प्रायोजन गर्दै आएको बराह ज्वेलरीका धरान शाखा प्रमुख मानबहादुर दियाली बिकले जानकारी दिए ।