सिरहा / चालु आर्थिक वर्ष २०८१र०८२ को झण्डै छ महिना बित्दा लहान नगरपालिकाकोे पुँजीगत खर्च तीन दशमलव ४५ प्रतिशतमात्रै भएको छ । शुक्रबार नगरपालिकाको १५औँ हिउँदे नगरसभामा नगरप्रमुख महेशप्रसाद चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा गर्दै उक्त विवरण प्रस्तुत गर्नुभएको हो ।
नगरप्रमुख चौधरीका अनुसार १४औँ नगरसभाबाट पारित जम्मा रू एक अर्ब २३ करोड एक लाख ९२ हजार आय र व्ययको अनुमानसहितको वार्षिक बजेटबाट हालसम्म जम्मा रू २८ करोड ५६ लाख ५० हजार खर्च भएको छ । यसमध्ये चालु खर्चतर्फ रू २४ करोड २३ लाख तीन हजारअर्थात् १९ दशमलव ७० प्रतिशत रहेको छ ।
त्यसैगरी पुँजीगतअर्थात् विकास खर्चतर्फ रू चार करोड ३३ लाख ४७ हजारअर्थात् तीन दशमलव ४५ प्रतिशत खर्च भएको हो । यहाँ २४ वटा वडा रहेका छन् । नगरप्रमुख चौधरीले १४औँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको विस्तृत खर्च समीक्षा तथा संशोधित आय र व्ययको अनुमानका आधार योजना तथा कार्यक्रम दुई दिन चल्ने बन्द–शत्रमा छलफल गरी पारित गर्ने जानकारी दिनुभयो ।
शुक्रबार उद्घाटन गरिएको १५औँ हिउँदे नगरसभाको उद्घाटन उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्नुभएको थियो । स्थानीय शासन सञ्चालन ऐन, २०७४ मा नगरसभा वर्षमा दुई पटकसम्म गर्न सकिने भनी उल्लेख गरिएको छ ।