काठमाडौं  / नेपालमा १५६ कोरोनाभाइरस सङ्क्रमित थपिएको र थप एक जनाको मृत्यु भएको बिहीवार पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले बुधवार अपराह्ण नेपालमा अब सङ्क्रमितको कुल सङ्ख्या १,०४२ पुगेको बताए।

यो एकै दिन बढेको सर्वाधिक सङ्ख्या हो। सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। कोभिड(१९ बाट मृत्यु हुनेको सङ्ख्या अब पाँच पुगेको छ। अहिले पुष्टि भएका व्यक्ति ललितपुरका ५६ वर्षीय पुरुष भएको मन्त्रालयले जनाएको छ। बुधवार ११४ जनामा सङ्क्रमण पुष्टि भएको थियो।

अहिलेसम्म निको हुनेको सङ्ख्या १८७ छ। वीरगन्जस्थित नारायणी अस्पतालबाट चार जना बिदा भएपछि भाइरसमुक्त हुने सङक्रमितको सङ्ख्या बढेको हो।

डा देवकोटाका अनुसार सङ्क्रमित व्यक्ति फेला परेको जिल्लाको सङ्ख्या ५१ पुगेको छ। अहिलेसम्म प्रदेश नं १ र २ का आठ(आठ, वाग्मती प्रदेशका १२, गण्डकी प्रदेशका चार, प्रदेश नं ५ का नौ, कर्णाली प्रदेश तीन र सुदूरपश्चिम प्रदेशका सातवटा जिल्लामा सङ्क्रमित फेला परेका छन्। मन्त्रालयको तथ्याङ्ककअनुसार अहिले देशभरि ८६,०५७ व्यक्ति क्वारन्टीन र ८५० जना आइसोलेशन अर्थात् चिकित्सकीय निगरानीमा अलग्गै छन्। अहिलेसम्म पीसीआर विधिबाट कुल ६०,६९६ वटा परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

जिल्लागत विवरण
बिहीवार कुन जिल्लामा कति सङ्क्रमित थपिए

जिल्ला पुष्टि भएको सङ्ख्या
धनुषा                       २९
झापा                       २५
रौतहट                     २०
महोत्तरी                   १७
सप्तरी                     १४
सुर्खेत                     १३
दैलेख                     ८
सर्लाही                    ७
सिराहा                    ६
स्याङ्जा                   ३
बर्दिया                     ३
दोलखा                    २
कैलाली                    २
नवलपुर                   १
सोलुखुम्बु                 १
बझाङ                    १
दार्चुला                    १
मकवानपुर               १
बाँके                     १
अहिले प्रदेश नं २ र ५ मा सर्वाधिक सङ्क्रमित छन्। प्रदेश नं २ का जिल्लामा फेला परेका सङ्क्रमितहरू अधिकांश भारतबाट फर्किएर क्वारन्टीनमा भएका व्यक्ति भएको बीबीसी संवाददाता माधुरी महतोले बताएकी छन्।

तर सप्तरीमा क्वारन्टीनको सुरक्षाका लागि खटिएका एक प्रहरीमा पनि सङ्क्रमण पुष्टि भएको छ। अहिले प्रदेश नं २ मा ३१३ सङ्क्रमित छन् भने १०१ जना कोभिड १९ मुक्त भएर अस्पतालबाट बिदा भइसकेका छन्।