झापा /  झापामा अर्का कोरोना संक्रमित थपिएका छन् । ब्राहदशी–४ का ५५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

उनको स्वाब धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको स्वास्थ्य कार्यालय झापाका कार्यालय अधिकृत तथा जिल्ला विपत् व्यवस्थापन समितिका सचिव जीवन चौलागाईंले जानकारी दिए ।

उनी गत फागुनमै भारतबाट आएको बताइएको छ । अब उनीसँग सम्पर्क भएका व्यक्तिको खोजी गरिने चौलागाईंले बताए । ‘उनी भारतबाट कोसँग आए, कहाँ–कहाँ गए पत्ता लगाउँछौँ’, उनले भने, ‘यसका लागि भोलि नै फिल्डमा जान्छौँ ।’ उनलाई कोसी कोभिड अस्पताल लगिएको छ ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । यसअघि १२ वैशाखमा झापाका ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो । उनि लगायत ३० जनाको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । राजगढका संक्रमित ५० बर्षीय जमातीसंगै नेपालमा संक्रमित हुनेको कूल संख्या ५२ पुगेको छ भने प्रदेश १ मा ३१ पुगेको छ । नेपालमा कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना उपचारपछि घर फर्किएका छन् ।