धरान / गाउँमा उत्पादन भएका कृषिजन्य उत्पादनहरू हप्ताको एक चोटि बिक्री वितरण गर्ने थलो बनेको हटिया लोप हुन थाले पछि धरानमा अर्गानिक शनिबार हटिया संचालनमा ल्याइने भएको छ । गाउँमा उत्पादन भएका अर्गानिक खाद्य सामग्री किनमेल गर्न धरानवासीलाई सहज होस भनेर हटिया संचालनमा ल्याइन लागेको हो । धरान आसपासका क्षेत्रहरुमा उत्पादन भएका अर्गानिक कृषिजन्य उत्पादनहरुलाई बजारीकरण गर्न धरानमा शनिबारदेखि साप्ताहिक रुपमा अर्गानिक हटिया लाग्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरी धरानमा साप्ताहिक रूपमा लाग्दै आएको शुक्रबारे हाट र मंगलबारे हाट बन्द भएपछि शनिबार हाट लगाउने तयारी गरिएको शनिबारे हटिया व्यवस्थापन समितिले जनाएको छ । हटियामा अर्गानिक उत्पादनको बिक्री वितरण गरिनेछ । रासायनिक मल तथा विषादीको प्रयोगलाई निरुत्साहित गर्दै अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न अर्गानिक हटिया लगाइने समितिकी सचिव सबिता राईले बताइन । उनले भनिन्, ‘धरान वरिपरिका कृषकहरुले आफ्नै प्रयासले अर्गानिक खेती गरिरहेका छन्, उनीहरूको उत्पादनलाई बजार दिन हटिया लगाइँदैछ ।’
‘रासायनिक मलको प्रयोगले माटोको आयु घटाउँदै गइरहेकोले अर्गानिक खेतीलाई प्रोत्साहन गर्न बजार खुल्दैछ’, समितीका अध्यक्ष काजी गिरीले भने, ‘कृषक र उपभोक्ता बीच सिधै कारोबार हुने भएकाले पनि सस्तो र सुलभ हुनेछ ।’ अर्गानिक कृषिजन्य उत्पादनमा तुलानात्मक वृद्धि भए पछि अर्गानिक खेतीमा कृषकहरूलाई उत्साहित बनाइने हटियाको लक्ष्य रहेको उनको भनाइ छ । धरान स्थित अमान बजारमा लाग्ने हटियामा अर्गानिक खाद्यान्न, अर्गानिक तरकारी, फलफुलसहित हस्तकलाका उत्पादन, परम्परागत खानपान लगायतका १४ वटा स्टलहरु रहनेछन् ।