धरान ÷ भर्ना समयमा अभिभावकलाई एउटै पुस्तक पसलबाट भारी मात्रामा कमिसन राखी सामान खरीद गर्न र महंगो शुल्क तिर्न वाध्य वनाउने निजी विद्यालय र स्टेशनरी पसल विरुद्ध नेपाल विद्यार्थी संघले आन्दोलन गर्ने भएको छ ।
स्टेशनरी व्यवसायी तथा बुक डिपोहरु र निजी विद्यालय सञ्चालकबीच मिलेमतोमा अभिभावकहरुलाई एउटै पसलबाट मात्र शैक्षिक पाठ्य सागम्री खरीद गर्न बाध्य पार्ने गरीएको छ ।
नेपाल विद्यार्थी संघले वाध्यकारी अवस्थाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।
संघको महेन्द्र बहुखुमी क्याम्पस इकाईले स्टेशनरी व्यावसायी संघ, धरानलाई ध्यानाकषर्ण गराउदै विद्यार्थी तथा अभिभावकहरुलाई प्रत्यक्ष मारमा पार्ने गरी शिक्षा क्षेत्रमा कायम गरिएको यो सिण्डिकेट अन्त्य हुनुपर्ने जोडदार माग गरेको छ ।
नयाँ शैक्षिक सत्र शुरु हुन लाग्दा नेवि संघले ध्यानाकर्षण गराएको हो ।
संघका कार्वावाहक सभापति दोर्ची शेर्पाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा निजी विद्यालय सञ्चालक र बुक डिपोहरुको संलग्नतामा विद्यालयको पहिचान अंकित पाठ्य सामग्रीहरु मात्र प्रयोग गर्नुपर्ने बाध्यकारी अवस्था श्रृजना गर्नुले शिक्षामा सिण्डिकेट कायम गर्न खोजिएको प्रष्ट भएको उल्लेख गरीएको छ ।
शेर्पाका अनुसार निजी विद्यालयका सञ्चालक र स्टेशनरीसँगको मिलेमतोमा अभिभावकहरुलाई कुनै एउटा निश्चित वुक डिपोमा मात्र कपी,ब्याग लगायतका स्टेशनरी सामाग्री किन्न बाध्य पारिन्छ । आफ्नो घर नजिकको पसल भएपनि त्यहाँ किन्न पाइदैन । अभिभाकवहरुले त्यसरी किन्न नपाओस् भनेर मिलेमतोमा नै कपी, ब्यागमा विद्यालयको नाम प्रिन्ट गरिएको हुन्छ । ‘नाम प्रिन्ट भएकै मात्र किन्नुपर्ने वाध्यता श्रृजना गरीएको छ । ‘विद्यालय सञ्चालक र बुक डिपोबीच कमिशनले गर्दा सिण्डीकेट लादीदै आएको छ आगामी शैक्षिक सत्रबाट यो प्रथा अन्त्य गरीनु पर्नेमा शेर्पाको भनाई रहेको छ ।
उनले यस्तो सिण्डीकेटको अन्त्य नगरीए नेविसंघले जस्तोसुकै आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनि समेत दिएकाछन् ।
कमिसनका कारण ३० रुपैया मुल्य पर्ने कपिलाई ६० रुपैया देखि ६८ रुपैयासम्म अभिभावकले किन्न वाध्य हुने गरेकाछन् । खुल्ला वजारको सिद्धान्त अनुसार जुनसुकै पशलबाट पनि खरीद गर्न पाउनु पर्दछ । खुल्ला बजार भएको खण्डमा अभिभावकलाई आर्थिक भार पनि कम पर्ने हुन्छ । ‘प्रतिस्पर्धात्मक मुल्यमा अभिभावकहरुले खरीद गर्नु पाउदैनन ।
नेवि संघले यसलाई शैक्षिक अपराधजन्य कार्यको संज्ञा दिदै रोक्न पनि आग्रह गरेको छ । त्यसो नगरे संघले विद्यार्थी हकहितको लागि जस्तो सुकै मुल्य चुकाउन पनि तयार रहेको ध्यानाकर्षण पत्रमा उल्लेख छ । यस्तो विकृति र चर्को कमिसन विरुद्ध सवै विद्यार्थी संगठनहरु एक भएर लाग्नुको विकल्प छैन । यसमा अभिभावक समेत सचेत हुनुपर्नेछ ।