इलाममा आगामी पुस ५ गतेदेखि १६ गतेसम्म पर्यटन महोत्सव आयोजना गरिने भएको छ।
इलाम पर्यटन प्रर्वद्धन सरोकार मञ्चले पूर्वी क्षेत्रको पर्यटन प्रवद्धन गर्ने उद्देश्यले मेची क्षेत्र पर्यटन महोत्सव २०१८ आयोजना गर्ने भएको हो।
पर्यटक प्रवद्र्धन सरोकार समितिका महासचिव देवी पौडेलले पूर्वी पहाडी जिल्लाका पर्यटकीयस्थलको दिगो पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
महोत्सवमा इलाम, पाँचथर, झापा र ताप्लेजुङका स्थानीय उत्पादनका स्टलहरु रहनुका साथै प्रत्येक दिन स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने भएको छ ।
यस्तै चार जिल्लाका पर्यटन व्यवसायीको भेला, विभिन्न साहित्यिक श्रेत्रबाट साहित्यिक कार्यक्रम, वृद्ध, बच्चा र विद्यार्थी लक्षित कार्यक्रम, भेँडा चौरी, अवलोकन, घोडचढी लगायतका कार्यक्रम हुनेछन्।
इलाम लगायत मेची अञ्चलका पर्यटकीयस्थलहरुको प्रचारप्रसारका लागि यो महोत्सवले सहयोग पुग्ने पौडेलको विश्वास रहेको छ । यस्तै इलामको अन्तु, कन्याम, सन्दकपुर, पाथिभरा लगायत पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिने आयोजक समितिले जनाएको छ।