धरान / डिपोट मा.वि. धरानले क्षेत्राधिकार, कानुुन, सम्झौता, सार्वजनिक खरिद ऐन, नैतिकता, शैक्षिक उद्देश्य र मर्यादा विपरित अस्पताल र शैक्षिक संस्था जस्तो संवेदनशील र शान्तिक्षेत्रको हाताभित्र रहेको ३ विघा जग्गामा फन पार्क, होटल, सिनेमा हल, रेस्टुरेन्ट, ग्रिन पार्क, सुपरमार्केट, एम्युजमेन्ट पार्क, नर्सिङ होम, मेडिसिन वा इन्जिनियरिङ संग सम्बन्धित संस्था, पेट्रोल पम्प, ड्राइभिङ स्कुल वा रिसोट निर्माणका लागि इजि राइडर्स बिजीनेस ग्रुप प्रा.लि., धरान १५ लाई ३० वर्षका लागि लिजमा दिएको विरुद्ध वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका मेडिकल एण्ड डेन्टल शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाज र विद्यार्थी कल्याण समाजले चरणवद्ध संघर्षका कार्यक्रम घोषण गरेको छ ।
प्रतिष्ठान अन्तर्गतका मेडिकल एण्ड डेन्टल शिक्षक कल्याण समाज, कर्मचारी कल्याण समाज, जुनियर रेसिडेन्ट कल्याण समाज र विद्यार्थी कल्याण समाजको संयुक्त भेलाले डा. विष्णु पोखरेल संयोजक र सुजेन्द्र तामाङ सदस्य सचिव रहेको तथा सबै समाज, नेपाल मेडिकल एशोसिएसन र नर्सिङ एशोसिएशन अफ नेपालको समेत प्रतिनिधित्व रहने गरी संघर्ष समिति गठन गनूका साथै संघर्षका कार्यक्रमहरु घोषणा गरेको हो ।
वी.पी. प्रतिष्ठान र डिपोट बचाउनका लागि सबै समाज एक भएर संघर्ष गर्नुपर्ने आवश्यकता देखिएकाले संघर्ष समिति नै बनाएर संघर्षका कार्यक्रम घोषणा गरिएको संयोजक पोखरेलले बताए ।
डिपोट स्कुलले प्रतिष्ठान र डिपोट स्कुल वीच भएको निर्णय एवम् सहमति, प्रतिष्ठानको संचालक परिषदको निर्णय, स्वास्थ्य मन्त्रालयको निर्णय, मन्त्रिपरिषदको निर्णय र भूमिसुधार मन्त्रालयको निर्णय बमोजिम विद्यालय प्रयोजनका लागि मात्र भोगाधिकार पाएको प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा र भवनलाई नेपाल सरकार र प्रतिष्ठानको स्वीकृति विना अन्य प्रयोजनका लागि प्रयोग गर्न नपाउने र अस्पताल र शैक्षिक संस्था जस्तो संवेदनशील एवम् शान्ति क्षेत्रमा शैक्षिक गतिविधि र अस्पताल सेवा विस्तार वाहेकका गतिविधि गर्न नमिल्ने तथा यस्तो कार्य भएमा डिपोट र प्रतिष्ठानको अस्तित्व नै संकटमा पर्दै जाने भन्दै संघर्षका कार्यक्रम घोषणा गरेको कर्मचारी कल्याण समाजका अध्यक्ष एवम् संघर्ष समितिका सदस्य सचिव सुजेन्द्र तामाङले बताए ।
भेलाले १. र्याली सहित धरान नगर परिक्रमा गरी फनपार्क निर्माण स्थलमा प्रर्दशन गर्ने । २. प्रतिष्ठानव्यापी हस्ताक्षर अभियान सञ्चालन गरी प्रधानमन्त्री एवम् कुलपति, स्वास्थ्य मन्त्री एवम् सहकुलपति, प्रदेश १ का मुख्यमन्त्री, धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रतिष्ठानका उपकुलति, डिपोट मा.वि. लगायत सम्बन्धित निकायहरुमा बुझाउने । ३. डिपोट मा.वि. को संचालक समितिका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सामुहिक उजुरी दिने र ४. धरानका जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी र सरोकारवालाहरुसंग नागरिक संवाद गर्ने लगायतका कार्यक्रमहरु घोषण गरेको छ ।