धरान । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरी निर्वाचन क्षेत्र नं. १ का लागि पूर्वाधार, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र रोजगारीका क्षेत्रमा केन्द्रित गर्दै दीर्घकालीन विकासको विस्तृत प्रतिबद्धता जनाएको छ। निर्वाचन प्रचार–प्रसार समितिमार्फत सार्वजनिक योजना अनुसार धरान, बराहक्षेत्र र रामधुनीलाई समेटेर ती क्षेत्रलाई समृद्ध, सुरक्षित र आत्मनिर्भर बनाउने लक्ष्य अघि सारिएको छ।

यसपटक एमालेले सुनसरी–१ बाट युवा टीकाराम लिम्बूलाई उम्मेदवार बनाएको छ। विकासमुखी एजेण्डालाई केन्द्रमा राख्दै लिम्बूको नेतृत्वमा समग्र क्षेत्रको रूपान्तरण गर्ने  पार्टीले जनाएको छ । विगतमा एमालेको नेतृत्वमा भएका कार्यक्रम र पाइपलाइनमा भएका योजनाहरु पुरा गर्ने उम्मेदवार लिम्बूले प्रतिवद्धता जनाउनु भएको छ । 

पूर्वाधार विकासः सुरुङमार्गदेखि सडक सञ्जाल विस्तारसम्म

एमालेले सर्दु जलाधारको सिमाङ्कन विवाद समाधान गरी जलाधार संरक्षणलाई प्राथमिकता दिने उल्लेख गरेको छ। धरान–लेउती सुरुङमार्ग निर्माणलाई दीर्घकालीन रणनीतिक परियोजनाका रूपमा अघि बढाइने बताइएको छ।

त्यस्तै, तरहराबाट कालाबन्जार हुँदै चतरासम्म सडक विस्तार, गाउँ–बजार जोड्ने पक्की पुल निर्माण तथा भित्री सडक सञ्जाल स्तरोन्नति गर्ने योजना अघि सारिएको छ । 

बराहक्षेत्र नगरपालिका क्षेत्रमा धार्मिक तथा पर्यटकीय पहुँच सुधार गर्न सडक र पूर्वाधार विस्तार गरिनेछ ।’–लिम्बूले भने–‘रामधुनी नगरपालिकामा औद्योगिक तथा कृषि उत्पादन ढुवानी सहज बनाउने सडक सुधार कार्यक्रम अघि सारिएको छ। एमालेको नेतृत्वमा भएका र वाँकी रहेका योजना पुरा गर्ने छु ।’

स्वास्थ्य: सेवा सुधार र पहुँच विस्तार

स्वास्थ्य क्षेत्रतर्फ वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सेवा सुधार, उपकरण व्यवस्थापन र भौतिक पूर्वाधार विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।

प्रतिष्ठानसँगको सहकार्यमा धरान नगर अस्पताल सञ्चालन तथा सेवा विस्तार गरिने जनाइएको छ। मातृ–शिशु अस्पताललाई पूर्ण रूपमा सञ्चालनमा ल्याई ग्रामीण क्षेत्रका नागरिकलाई सहज पहुँच दिने लक्ष्य राखिएको छ। बराहक्षेत्र र रामधुनीका स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरू स्तरोन्नति गरिने उहाँले बताउनु भयो । 

खानेपानी र विपद् व्यवस्थापन

ग्रामीण वडाहरूमा दीर्घकालीन पिउने पानीको व्यवस्था मिलाइने तथा धरान–४, ५, ६ र २० मा विशेष खानेपानी योजना लागू गरिने जनाइएको छ। धरानको खानेपानीको दीर्घकालिन समाधानका लागि आफ्नो विशेष भूमीका हुने उहाँले बताउनु भयो । 

सर्दु र सेउती खोलामा बाढी–पहिरो नियन्त्रणका लागि तटबन्ध, जैविक संरचना र जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन गरिनेछ। कोशी नदी आसपासका बस्तीहरूमा पनि तटबन्ध सुदृढीकरण र सुरक्षित आवास योजना अघि बढाइने प्रतिबद्धता गरिएको छ।

कृषि, उद्योग र रोजगारी

कृषि क्षेत्रमा सिँचाइ सुविधा विस्तार, उत्पादनको बजारीकरण, सामूहिक खेती प्रणाली प्रवर्द्धन तथा जडिबुटी प्रशोधन उद्योग स्थापना गर्ने लक्ष्य राखिएको छ। रामधुनी र बराहक्षेत्रका कृषकलाई आधुनिक प्रविधि र तालिममार्फत उत्पादन वृद्धिमा जोड दिइनेछ।

प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी स्थल निर्माण गरी स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसँग जोड्ने योजना सार्वजनिक गरिएको छ। युवाको सीप र चाहनाअनुसार व्यवसाय तथा रोजगारी सुनिश्चित गर्ने नीति अघि सार्दै स्वरोजगार र साना–मझौला उद्योग प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने एमालेले जनाएको छ।

शिक्षा, खेलकुद र युवा विकास

सामुदायिक विद्यालयहरूको स्तरउन्नति, प्राविधिक शिक्षा विस्तार तथा खेलमैदान निर्माणमार्फत युवालाई खेलकुदतर्फ प्रोत्साहन गरिने उल्लेख छ। 

धरानलाई शैक्षिक हबका रूपमा विकास गर्ने, बराहक्षेत्रमा धार्मिक अध्ययन तथा संस्कृत शिक्षालाई प्रवर्द्धन गर्ने र रामधुनी क्षेत्रमा प्राविधिक तथा सीपमूलक तालिम केन्द्र स्थापना गर्ने योजना अघि सारिएको छ।

पर्यटन प्रवर्द्धनस्ःधार्मिक र प्राकृतिक सम्पदाको उपयोग

बराहक्षेत्रस्थित बराहक्षेत्र मन्दिर लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्ने, कोशी टप्पु आसपासका क्षेत्रसँग पर्यटन सञ्जाल विस्तार गर्ने र धरान–भेडेटार क्षेत्रलाई साहसिक पर्यटनको गन्तव्य बनाउने लक्ष्य सार्वजनिक गरिएको छ।

रामधुनी क्षेत्रमा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, होमस्टे कार्यक्रम विस्तार तथा स्थानीय संस्कृतिको संरक्षणमा जोड दिइनेछ।

सामाजिक समावेशीकरण र व्यवस्थापन

अव्यवस्थित बसोबासलाई कानुनी प्रक्रियाअनुसार व्यवस्थित बनाउने, वन्यजन्तु–मानव द्वन्द्व न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने तथा दलित, जनजाति र विपन्न समुदाय लक्षित आयआर्जन कार्यक्रम अघि बढाइने एमालेले जनाएको छ।

एमालेले यी योजनामार्फत सुनसरी–१ लाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग र पर्यटनको सन्तुलित केन्द्रका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य अघि सारेको छ। पार्टीका अनुसार धरान, बराहक्षेत्र र रामधुनीलाई एकीकृत विकास अवधारणामा जोड्दै समग्र क्षेत्रलाई नमुना निर्वाचन क्षेत्रका रूपमा स्थापित गर्ने रणनीति तय गरिएको छ।