चतरा । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको सुनसरीको बराहक्षेत्रमा पर्यटन तथा धार्मिक संग्रहालय निर्माण हुने भएको छ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि संग्रहालय निर्माण गर्न ५० लाख रुपैयाँ बजेट छुट्याएपछि यसको निर्माण प्रक्रिया अघि बढाइएको हो ।
बृहत्तर बराहक्षेत्र विकास समितिका कार्यकारी निर्देशक अबिजाल विष्टका अनुसार प्रदेश सरकारले विनियोजन गरेको रकम समितिको खातामा समेत आइसकेको छ । संग्रहालय निर्माणका लागि उपयुक्त स्थान छनोट गर्ने विषयमा सरोकारवालासँग छलफल भइरहेको उहाँले बताउनु भयो ।
बुधबार आयोजित स्थान छनोटसम्बन्धी अन्तरक्रियामा बोल्दै विष्टले बराहक्षेत्रको धार्मिक महत्वसँगै नगर क्षेत्रमा रहेका विभिन्न जातजाति, भाषाभाषी र समुदायका संस्कार, संस्कृति तथा मौलिक पहिचानलाई संग्रहालयमा समेट्ने योजना रहेको जानकारी दिनु भयो ।
‘बराहक्षेत्रको धार्मिक तथा सांस्कृतिक इतिहासलाई एउटै स्थानबाट बुझ्न सकिने गरी संग्रहालय निर्माण गर्ने तयारी भइरहेको छ,’ उहाँले भन्नु भयो, ‘स्थान छनोटलगायतका विषयमा सरोकारवालासँग छलफल गरेर अघि बढ्छौं ।’
समितिका अनुसार संग्रहालय भवन निर्माणका लागि दशैंलगत्तै ठेक्का आह्वान गर्ने तयारी छ । संग्रहालयमा बराहक्षेत्रको धार्मिक इतिहास, स्थानीय कला–संस्कृति, जातजातिका परम्परा, भाषा, संस्कार तथा यहाँको पर्यटनसँग जोडिएका महत्वपूर्ण सामग्री र सम्पदालाई व्यवस्थित रूपमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।
अन्तरक्रियामा प्रमुख अतिथिका रूपमा सहभागी कोशी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले बराहक्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई थप विस्तार गर्दै प्रदेशकै नमुना गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले बराहक्षेत्रको धार्मिक महत्वसँगै यहाँको मौलिक संस्कृति र ऐतिहासिक सम्पदाको संरक्षणलाई पर्यटन विकाससँग जोड्न सके स्थानीयस्तरमा रोजगारी र आर्थिक गतिविधिसमेत बढाउन सकिने धारणा राख्नु भयो ।
कोशी प्रदेशकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित बराहक्षेत्रमा धार्मिक तथा सांस्कृतिक संग्रहालय निर्माण भएपछि यहाँ आउने पर्यटक तथा तीर्थयात्रीलाई बराहक्षेत्रको इतिहास, धार्मिक मान्यता र स्थानीय सांस्कृतिक विविधताबारे एकै ठाउँबाट जानकारी लिन सहज हुने अपेक्षा गरिएको छ ।



















