खोटाङ / सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोशी नदीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडानको काम सुरु भएको छ । खोटाङको खोटेहाङ–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई–५ आँपटार जोड्ने मोटरेबल पक्की पुल बाढीले बगाएपछि वैकल्पिक रूपमा बेलिब्रिज जडान गर्न थालिएको हो ।
विगत छ महिनादेखि अवरुद्ध रहँदै आएको दिक्तेल–गाईघाट यातायात अब मङ्सिरको अन्तिम सातादेखि सञ्चालनमा आउने सडक योजना कार्यालयले जनाएको छ । गाईघाट–दिक्तेल सडक योजना कार्यालयकाअनुसार ठेक्का सम्झौता भइसकेको र आवश्यक सबै सामग्री स्थलमा पुगेकाले आगामी पुस १५ गतेभित्र बेलिब्रिज सञ्चालनमा ल्याइनेछ। सूचना अधिकारी इन्जिनियर सुभाषकुमार तिवारीका अनुसार नदीको पानीको तह घटेपछि काम तीव्र रूपमा अघि बढ्न थालेको हो ।
एमएरएस आर्यन कन्स्ट्रक्सन मल्टी पर्पोज प्रालिले करसहित रु ९६ लाख ७७ हजार ९३७ रुपैयाँमा बेलिब्रिज जडानको जिम्मा लिएको छ । आवश्यक सामग्री ल्याइसकिएको र अब जडान मात्र बाँकी रहेको कम्पनीले जनाएको छ ।
यस्तै, सुनकोशीकै बङ्शिलाघाटमा पनि अस्थायी बेलिब्रिज जडानको काम दृत गतिमा भइरहेको छ । खोटाङको बराहपोखरी–५ पौवासेरा र उदयपुरको चौदण्डीगढी–१ को सीमामा पर्ने बङ्शिलाघाटमा कोशी प्रदेश सरकारले रु ५७ लाखमा जडान कार्य सुरु गराएको हो । गुरुकुल बिल्डर्स एन्ड सप्लायर्स प्रालिले पुस पहिलो हप्ताभित्र बेलिब्रिज सञ्चालनमा ल्याउने लक्ष्यसहित काम गरिरहेको छ । ५१.८१ मिटर लम्बाइको उक्त बेलिब्रिजका लागि आवश्यक सामग्री प्रदेश सरकारले रु १ करोड ८७ लाखमा खरिद गरी पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरेको कार्यालय प्रमुख विनम दाहालले बताउनु भयो ।
दक्षिणी क्षेत्रका स्थानीय बासिन्दा वर्षौंदेखि झोलुङ्गे पुलका भरमा आवतजावत गर्दै आएका थिए । अस्थायी मोटरेबल बेलिब्रिज जडान हुने भएपछि उनीहरू हर्षित बनेका छन्। बङ्शिलाघाटमा स्थायी पक्की पुल निर्माण भइरहेको भए पनि काम सुस्त भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिहरूले संघीय सरकारसँग पटक–पटक आग्रह गर्दै आएका थिए । संघीय सरकारले बजेट नदिएपछि प्रदेश सरकारले नै बजेट व्यवस्था गरी काम अघि बढाएको प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले जानकारी दिनु भयो ।
स्थायी पुल निर्माणका लागि कालिका–बेदान्सी जेभीले २०७७ पुस २८ गते सम्झौता गरेको भए पनि तीन वर्ष आठ महिनाको अवधिमध्ये अहिलेसम्म पिलर खडा गर्ने काम मात्र भएको छ । रासस



















