धरान / धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको होस्टेलबाट व्राउन सुगरसहित एक जना डाक्टर पक्राउ परेका छन् । प्रतिष्ठानमै अध्ययन गरेर इन्टर्न गर्दै रहेका डा. क्षितिज श्रेष्ठसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिष्ठानको होस्टेलको ११४ नम्बर रुमबाट काठमाडौं सिनामगंलका डा. श्रेष्ठसहित धरान १० का दिनेश श्रेष्ठ र धरान–५ का उज्वल हलुवाईलाई शनिबार पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।
उनीहरुको साथबाट २५ मिलिग्राम ब्राउन सुगर बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए ।
हलवाई प्रतिष्ठानभित्र ब्राउन सुगर पु¥याउने र श्रेष्ठले डाक्टरलाई उपलब्ध गराउने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । श्रेष्ठ प्रतिष्ठानको ४ नं मेसका सञ्चालक हुन् । उनीहरुलाई शनिबार प्रतिष्ठानको सुरक्षा गार्डहरुले रंगेहात पक्राउ गरेर वार्डेनलाई बुझाएको थिए ।
प्रहरीले पहिलो घट्ना भएको बताए पनि यो पहिलो घटना नभएको प्रतिष्ठानका एक कर्मचारीले बताएका छन् । गाँजा, चुरोट तथा रक्सी सेवन गर्ने जस्ता कार्यमा संलग्नहरुलाई प्रतिष्ठानका सुरक्षा गार्डले पटक पटक वार्डेनलाई बुझाउदै आएको प्रतिष्ठान श्रोतले जनाएको छ ।
प्रतिष्ठान हाताभित्र कोही गैरकानुनीरुपमा पक्राउ गरेपनि सुरक्षा जिम्मा पाएको सेक्युरिटी कम्पनीले सिधै प्रहरीमा बुझाउन पाउँदैन । सेक्युरिटी कम्पनीले पक्राउ गरेर वार्डेनलाई बुझाउनुपर्ने हुन्छ । त्यसैले धेरैजसो यस्ता घटना प्रतिष्ठानभित्र नै गुपचुप रहने गरेको श्रोतले बताएको छ ।
धरान प्रहरीले शुक्रबार मात्रै ९ ग्राम ब्राउन सुगरसहित धरान–३ बाबाधाम मार्गबाट ललित विश्वकर्मा र समीर मगरलाई पक्राउ गरेको थियो । यस्तै धरान–१० बाट एक युवा आइतबार लागु औषध सहित पक्राउ परेका थिए ।