धरान / धरान–१५ स्थित केके इन्टरनेशनल स्कुलको पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा विद्यार्थीहरुले विद्यालयमा सिकेका प्रतिभा अभिभावकसमक्ष प्रर्दशन गरेका छन् । नृत्य, गीत–सङ्गीत, नाटकलगायतका विधामा विद्यार्थीहरुले प्रतिभा प्रस्तुत गरेका थिए ।
धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रिन्सिपल भिक्टर जोसेफको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यालयका बोर्ड मेम्वर गिरिधारी सापकोटा, खगेन्द्र खतिवडा, सुनिल अग्रवाल, अशोक अग्रवाल, डा. राजेन्द्र शर्मालगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सम्पन्न गर्न भारतका कोरियोग्राफर तथा स्कुलका कोरियोग्राफर देवराज सुब्बाले भूमिका निभाएका थिए । कार्यक्रममा श्रीगणेश, कल्चर नृत्य साथै मारूनी नृत्य, कल्चरल फेशन शो समेत आयोजना गरिएको थियो ।
सोही अवसरमा ४ जना शिक्षकलाई सम्मान पनि गरिएको थियो । वेष्ट इन स्मार्ट क्लासको सुवास कार्की, वेष्ट इन प्रोजेक्टको सोभिता वान्तवा राई, वेष्ट इन कोअर्डिनेटसनको सुशान्तहाङ सुब्बा, वेष्ट इन टिचिङ मेथोलोडोजीको विजयसिंह थेवेलाई सम्मान प्रदान गरिएको वोर्ड मेम्वर गिरिधारी साप्कोटाले जानकारी दिए । करिब साढे तीन सय विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको अध्यक्ष प्रविन अग्रवालले जानकारी दिए । कार्यक्रममा भूकम्प सचेतनासम्बन्धी नृत्य साथै नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका नृत्य, नाटक सर्ब एउटा थिममा प्रस्तुत गरिएको थियो । कार्यक्रममा ब्रिटिस काउन्सिलको इ. स्कुल अवार्ड अन्तर्गत छाउपछी विषयमा नाटक पनि भएको थियो । अध्यक्ष अग्रवालका अनुसार जनवरी ८ तारिख श्रीलङ्कामा हुने कार्यक्रममा भाग लिन विद्यालय जाने बताईएको छ ।
छोटो समयमा राम्रो प्रगति गर्ने विद्यालयको रुपमा के के इन्टरनेसनल स्कूललाई लिन सकिन्छ । यहाँ अध्ययनरत बालबालिका पढाईका साथै अतिरिक्त क्रियाकलापमा उतिकै पोख्त मानिन्छन् ।  विद्यार्थीहरुको शारिरिक, मानसिक तथा बौद्धिक विकासका लागि विभिन्न प्रकारका खुलकुद, चेतनामुलक कार्यक्रम, नैतिकवान बनाउन नैतिक शिक्षालाई जोड दिइएको अध्यक्ष प्रविण अग्रवाल बताउछन् । गुणस्तरिय शिक्षाका लागि विद्यालयमा कितावी ज्ञानसँगै अतिरिक्त क्रियाकलापलाई बढि प्राथमिकतामा राखेकै कारण आफुहरुको विद्यालय अव्वल भएको विद्यालय संचालक बोर्ड सदस्य गिरिधारी साप्कोटा बताउछन् ।