धरान  /  एक करोड ४० लाख ३३ हजार रूपैयाँको लागतमा निर्माण सम्पन्न भएको विजयपुर जोड्ने रेलिङ मार्गको उद्घाटन प्रदेश नं. १ का सभामुख प्रदीपकुमार भण्डारीले शनिवार गरेका छन् । उनले उद्घाटनको क्रममा धरानको विजयपुरलाई धार्मिक पर्यटकीय क्षेत्रको करिडोरका रूपमा विकास गर्ने योजना अगाडि सारेको बताए । प्रदेश सरकारले यसको विकासमा निरन्तर सहयोग गर्न आफ्नो तर्फबाट पहल गर्ने उनको भनाइ थियो ।
२०७० सालमा विजयपुर अध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवालको संयोजकत्वमा निर्माण भएको २९ सदस्यीय रेलिङ मार्ग निर्माण समितिले स्थानीय तह, प्रदेश सरकार र स्थानीय उपभोक्ताबाट सङ्कलित रकमबाट सो रेलिङमार्ग बनाएको हो । निर्माण समितिका कोषाध्यक्ष उद्धव अधिकारीले निर्माण कार्य सम्पन्न गर्दा भएको आय व्यय प्रस्तुत गरेका थिए । धरान उपमहानगरपालिकाको ६७ लाख २६ हजार ८ सय २८, निर्वाचन क्षेत्र पूर्वधार विकास कायृक्रम सुनसरी क्षेत्र नं. १ सभासद कोषबाट १५ लाख, पर्यटन कार्यालय झापाबाट ५ लाख ४ सय १६, उपभोक्ताबाट ५० लाख ६ हजार रुपैया गरी १ करोड ४० लाख ३३ हजारमा ५ सय २० मिटर लम्बाइको रेलिङ मार्ग निर्माण सम्पन्न भएको बताए । सोही बजेटमा १६ फिट आरसी ढलाई, ५५ मिटरको टाली लगाइएको छ ।
कार्यक्रममा प्रदेश सभा सांसद् उमिता बराइलीले रेलिङ मार्ग निर्माणले धरानको धार्मिक पर्यटकीयस्थल विजयपुर जोडेको बताउँदै यसले थप विजयपुरको गरिमा बढेर जाने बताइन् । धरान उपहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले धरान उपमहानगरपालिकाले विजयपुरको विकासलाई पहिलो प्राथमिकतामा लिएर बजेट समेत विनियोजन गरेको बताइन् ।
कार्यक्रममा धरान १४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई, नेकपा एमाले धरान नगर अध्यक्ष नारायण सुवेदी, धरान २ का समाजसेवी रमेश राई, नेपाली काङ्ग्रेस धरान नगर समितिका सभापति तिलक राई, निर्माण समिति अन्तर्गतका अनुगमन समितिका संयोजक टंक कार्की, प्राध्यापक टंक न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रममा रेलिङ मार्ग निर्माणमा ५० हजारदेखि माथि सहयोग गर्ने १६ जनालाई प्रशंसापत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रा.डा भरत भट्टराईले लेखेको सुनसरीका केही प्रमुख धाम नामक धार्मिक पुस्तकको विमोचन गरिएको थियो ।