धरान / विद्यालयहरुको गर्मी विदालाई लक्षित गरि धरान वास्केटवल संघको आयोजना तथा जिल्ला बास्केटवल संघको सहयोगमा आयोजित दोस्रो समर बास्केटवल प्रशिक्षण क्याम्प शनिवार समापन भएको छ । प्रदेश न. १ का सभामुख प्रदिपकुमार भण्डारीको प्रमुख आतिथ्यतामा सम्ंपन्न समापन कार्यक्रममा क्याम्पमा सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
उनीहरुलाई प्रमुख अतिथी सभामुख भण्डारी, कार्यक्रमका सभाध्यक्ष धरान बास्केटवल संघका अध्यक्ष तथा संघका केन्द्रिय उपाध्यक्ष सुरजकुमार लामा, बास्केटवल संघका सल्लाहकार खगेन्द्र रिजाल, धरान १८ वडाध्यक्ष प्रविण राई, धरान १० वडाध्यक्ष श्री सुव्वा, डिपो क्याम्पस प्रमुख राजकुमार राई लगायतले प्रमाण पत्र वितरण गरेका थिए । क्याम्पमा धरान भरिका १८ वटा विद्यालयका ९५ जना विद्यार्थीहरुले सहभागिता जनाएको स्वागत मन्तव्यको क्रममा जिल्ला बास्केटवल संघ, सुनसरीका अध्यक्ष नारायण सुवेदिले जनाए ।
उनीहरुको क्षमता अभिवृद्धि तथा पहिचान गर्दै बास्केटवल खेलाडी उत्पादनको लागि क्याम्पको आयोजना गरिएको सुवेदीले जनाए । कार्यक्रममा क्याम्पमा सहभागीहरु मध्येवाट हिमाल कलेक्सन उत्कृष्ट महिला र पुरुष खेलाडी, हाम्रो कलेक्सन उदयीमान खेलाडी र अनुशासित खेलाडीलाई पुरस्कृत गरिएको थियो । हिमाल कलेक्सन उत्कृष्ट महिला र पुरुष खेलाडीमा पर्वत स्कुलमा कक्षा ९ मा अध्यनरत सितल तामाङ र जेम स्कुलमा कक्षा ९ मा अध्यनरत निसान्त तामाङ घोषित भए उनीहरुलाई एक एक थान जुत्ता प्रदान गरिएको थियो । त्यस्तै गरि हाम्रो कलेक्सन उदयीमान खेलाडी कक्षा ४ मा सिओन स्कुलमा अध्यनरत सायसमनि राई र अनुशासित खेलाडी कक्षा ८ मा विष्णु स्कुलमा अध्यनरत सोफिया गुरुङ घोषित भए । उनीहरुलाई एक एक थान बास्केटवल र व्याग प्रदान गरिएको थियो । यसका साथै समर क्याम्प सफल वनाउन विशेष योगदान दिने नव प्रशिक्षक तथा खेलाडीलाई पनि पुरस्कृत गरिएको थियो । नव प्रशिक्षकमा वेस्ट ट्रेनर पुरस्कार चिरञ्जीवि गिरि, विशेष योगदान वापत वेस्ट एफोर्ट पुरस्कार पूर्वाञ्चल बास्केटवल टिम कप्तान हेमन्त राई र प्रेरणादायी खेलाडीमा पूर्वाञ्चल महिला बास्केटवलका टिम कप्तान आशा राईलाई पुरस्कृत गरेको छ । उनिहरुलाई प्रमुख अतिथीको हात वाट डायरी र पेन प्रदान गरिएको थियो । यहि श्रावण २ गते देखि आयोजना भएको तीन हप्ते प्रशिक्षण क्याम्पका मूख्य प्रशिक्षक विकास चाम्लिङ राई रहेका थिए । उनको सहयोगिको रुपमा हेमन्त राई, आशा राई, उज्वल राई, चिरञ्जिवि गिरि, दिवस राई, विराज लिम्वु, युगल राई, विवेक श्रेष्ठ र रोशन राई रहेका थिए । प्रशिक्षण क्याम्प धरान १८ स्थित डिपो आदर्श वहुमुखि क्याम्पसको बास्केटवल कोर्टमा संपन्न भएको थियो ।