इटहरी /  प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले तालतलैया क्षेत्रलाई यस प्रदेशकै महत्वपूर्ण पर्यटक आवागमन केन्द्रका रुपमा विकास गरिने बताएका छन् । उनले तालतलैया क्षेत्रलाई अझ ब्यवस्थित, आकर्षक र पर्यटक लोभिने केन्द्रका रुपमा प्रवद्र्धन गर्न नीजि सरकारी र विभिन्न दातृ समुदायसमेतको सहकार्यमा जोड दिने कुरामा आफूले प्रयत्न गरिरहेको जानकारी दिए ।
मुख्यमन्त्री राईले इटहरी उपमहानगरपािलका– ३ मा रहेको पर्यटकीय तालतलैया क्षेत्रमा तालतलैया विकास तथा संरक्षण समितिले सञ्चालनमा ल्याएको मोटरबोटको शनिवार उद्घाटनपछि बोल्दै सो धारणा व्यक्त गरेका हुन ।
मुख्यमन्त्री राईले यो प्रदेशलाई नेपालकै सुन्दर, समृद्ध र सवल प्रदेशका रुपमा उभ्याउन आफू गम्भीर भएको बताए ।
कार्यक्रममा प्रदेश सांसद एवं इटहरीको तालतलैया क्षेत्रको परिकल्पनाकार सर्वध्वज सावाँ, इटहरी उपमहानगरपालिकाका उपमेयर लक्ष्मी गौतम, वडा नं ३ का वडाअध्यक्ष बालकृष्ण विष्ट र तुलाराम लिम्बूगायतले बोलेका थिए । तालतलैया विकास तथा संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्वूले मोटरबोट साढे आठ लाखमा आयात गरेको तथा उक्त मोटरबोटमा एक पटकमा १० जना मानिस राखेर जलविहारको थप पूर्वाधार खडा गरेको जानकारी दिए ।