धरान / आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४-३ गोलले पराजित गर्दै क्रोएसिया २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

क्रोएसियाले अन्तिम ८ मा स्थान पक्का गर्ने क्रममा पनि डेनमार्कलाई पेनाल्टी सुटआउटमै पराजित गरेको थियो। क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा पुगेको हो। पेनाल्टीमा रसियाका लागि जागोभ, इग्नासेभिच र कुजिएभले गोल गरे। तर रसियाका लागि पहिलो हानेका स्मोलोभको प्रहारलाई क्रोएसियाका गोलकिपर सुवासिकले बिफल पारे। यस्तै फर्नान्डेजका प्रहार बाहिरिएको थियो।

क्रोएसियाका लागि ब्रोजोभिक, लुका मोड्रिक, भिडा र इभान राकिटिकले पोनाल्टीमा गोल गरे। क्रोएसियाका क्रोभाकिको प्रहार भने रसियाका गोलकिपरले बचाए। अब क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डसँग बुधबार राति प्रतिस्पर्धा गर्नेछ।

स्विडेनलाइ हराउदै इंग्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनलमा
यता इग्ल्यान्ड २८ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको खेलमा स्विडेनलाई २-० गोलले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो।

इंग्ल्यान्ड पछिल्लो पटक सन् १९९० मा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको थियो। अब सेमिफाइनलमा इंग्ल्यान्डले आयोजक रसिया र क्रोएसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। शनिबार इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी माग्युर र डेल अलीले १-१ गोल गरे। खेलमा इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले दोस्रो हाफमा केही उत्कृष्ट बचाउ गरे। उनले मार्कोस बर्गले सिक्स यार्डबाट हानेको प्रहारलाई उत्कृष्ट बचाउ गर्दा स्विडेनले गोल फर्काउने अवसर गुमाएको थियो। 

सेमिफाइनल समिकरण पूरा

प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ। शनिबार राति अन्तिम क्वार्टरफाइनलमा क्रोएसिया विजयी भएसँगै सेमिफाइनल समिकरण पूरा भएको हो।
यस्तै शुक्रबार फ्रान्सले उरुग्वेलाई २-० गोलले हराएको थियो भने बेल्जियमले ब्राजिललाई २(१ गोलले पराजित गरेको थियो।

अब सेमिफाइनलमा फ्रान्स र बेल्जियमबीच आगामी मंगलबार राति प्रतिस्पर्धा हुनेछ। अर्को सेमिफाइनलमा इंग्ल्यान्ड र क्रोएसियाबीच बुधबार राति हुनेछ। योसँगै विश्वकपका ६० खेल सकिएका छन्। अब ४ खेल बाँकी रहेका छन्। फाईनल खेल असार ३१ गते हुने छ ।