धरान / कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इंग्ल्यान्ड विश्वकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार मध्य राती सम्पन्न खेलमा इंग्ल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४/३ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।

इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन, डियर ट्रिपियर र रास्फोडले पेनाल्टी सुटआउटमा गोल गरे। तर जोर्डन हेन्डर्सको प्रहारलाई कोलम्बियाका गोलकिपरले बचाए। यता कोलम्बियाका लागि कप्तान फाल्काओ, काउडार्डो र मुरिलले पेनाल्टीमा गोल गरे। तर बाकाको प्रहारलाई इंग्लिस गोलकिपरले विफल पारे भने उरिबेको क्रसबारमा लाग्यो।

त्यसअघि निर्धारित र थप सयममा दुवै टिमबाट १(१ गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। ह्यारी केनले ५७ मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए। तर कोलम्बियाका यारी मिनाले इन्जुरी टाइमको तेस्रो मिनेटमा बराबरी गोल फर्काएका थिए। अब इंग्ल्यान्डले क्वार्टरफाइनलमा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ।
यता यस अघि भएको नकआउट चरणको खेलमा स्विडेन क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।
स्विजरल्यान्डलाई १ – ० गोल अन्तरले पराजित गर्दै स्विडेन क्वार्टरफाइनलमा पुगेको हो । सेन्ट पिटर्सबर्ग स्टेडियममा स्विडेनले दोस्रो हाफमा गोल गर्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो । खेलको ६६ औं मिनेटमा इमील फोर्सवर्गको गोलबाट स्विडेनले जित निकालेको हो । उनको कडा प्रहार स्विस डिफेन्डरलाई लाग्दै गोलमा परिणत भएको थियो ।