धरान / झरनाबाट ढुङगा खसेर इटहरीका विक्रम तामाङको मृत्यु भएपछि पूर्वको पर्यटकिय गन्तव्य सागुरी गढीस्थित नमस्ते झरनामा यति बेला सुनसान बनेको छ । धनकुटा जिल्लामा पर्ने नमसते झर्नामा आन्तरिक तथा बाह्य पर्यटकहरुको सधै घुईचो लाग्ने गरेको थियो । तामाङको मृत्यु पछि झरना क्षेत्र सुनसान भएको हो ।
मलेसियाबाट विदा मनाउन घर आएका इटहरीका विक्रम तामाङको मृत्यु गत शुक्रबार भएको थियो । असार १४ गते मलेसिया फर्किने तयारीमा रहेका उनी शुक्रबार दिउँसो परिवारको साथमा साँगुरीगढीस्थित नमस्ते झरना पुगेका थिए । दिउँसो १ बजेतिर त्यहाँ पुगेका उनको टाउकोमा ढुंगा वज्रिएको थियो ।
एक छोरीका बुवा उनी पत्नी र आफन्तसहित घुम्न पुगेका थिए । ढुंगा लागेर घाइते भएका उनको धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भयो ।
ढुंगा खसेर आगन्तुकको मृत्युपछि नमस्ते झरना प्रवेशमा व्यवस्थापन समितिले रोक लगाइएको छ । ढुगा झर्ने स्थानहरुमा ताराजाली लगाउने काम भईरहेको छ ।
उनले भनेझैं झरना भएको ठाउँ निकै भिरालो र चिप्लो छ । साँघुरो बाटो भएर झरनासम्म आवतजावत गर्नुपर्छ । झरनामा पनि साँघुरो ठाउँ छ, जहाँ कति जना प्रवेश गर्ने भन्ने प्रावधान छैन । भीड भएका बेला टेक्ने ठाउँ पनि हुँदैन ।
झरना व्यवस्थापन समितिका अध्यक्ष दिलिप लिम्बुले तीन साता भित्रमा सक्ने गरी तारजाली लगाउने काम भईरहेको जानकारी दिए ।
भेडेटारभन्दा पाँच किलोमिटर उत्तरमा पर्ने यो झरना पछिल्लो समय भारतीय पर्यटकहरुको लागि विशेष आकर्षण बनेको थियो । पछिले समय विराटनगर, इटहरी, धरानलगायतका व्यक्तिहरुलाई सितलता ताप्ने गन्तव्य नमस्ते झर्ना बनेको थियो ।