काठमाडौँ / नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकता  प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको छ । राजधानीमा अाज आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पार्टी स्थापना भएको घोषणा गरे । विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक(नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो । कार्यक्रममा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाए ।
पूर्वप्रधानमन्त्री नेपालले नेपाल एकीकरण गर्दा पृथ्वीनारायण शाहले भन्नुभएको‘मेरा साना दुःखले आर्जेको मुलुक होइन’ भन्ने भनाइलाई सापट लिँदै एकता प्रक्रिया सानो दुःखले सहज बनेको होइन भन्ने धारणा राखे । सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को विषयलाई अगाडि बढाउन नयाँ पार्टी जिम्मेवारपूर्वक अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले जनताको भावनालाई बुझेर काम गर्नुपर्ने बताउनुभयो । नेपालका कम्युनिष्ट पार्टीले सामन्तवादको अन्त्य र लोकतान्त्रिक गणतन्त्र
स्थापना गर्न योगदान दिएको बताए । उनले पार्टी हाइकमाण्ड, स्थायी समिति र केन्द्रीय समितिसमेत गठन गरिएको जानकारी दिए । गत असोज १७ गते दुई पार्टीबीच छबुँदे सहमति भएर वाम गठबन्धन बनाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सामूहिक घोषणापत्रमार्फत दुवै दल अगाडि बढेका थिए । दुई पार्टीले संयुक्त रुपमा अगाडि सारेको नीति, कार्यक्रम तथा योजनालाई कार्यान्वयन गर्न पार्टी पंक्तिले देखाएको तदारुकता र अनुशासनसमेत मननयोग्य रहेको नेता नेपालको भनाइ थियो ।

उनले दुई पार्टी विधिवत् एकीकरण भई निर्वाचन आयोगमा दर्ता गरिएको उल्लेख गर्दै युगीन घोषणाले राजनीतिक स्थायित्व र समृद्धिको बाटामा लैजान महत्वपूर्ण योगदान गरेको बताए । समाजवादोन्मुख संविधानको कार्यान्वयन गर्दै सामाजिक आर्थिक, रुपान्तरणको दिशामा अगाडि बढ्न मार्गप्रशस्त गरेको नेता नेपालको भनाइ थियो । नेकपाले शान्तिपूर्ण प्रतिष्पर्धा, मानवाधिकार र विधिको शासनलाई सम्मान गर्दै स्वतन्त्र परराष्ट्र नीति, संयुक्त राष्ट्र संघको मूल्यमान्यतालाई आत्मसात् गरी विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्ने नीति अख्तियार गर्नेछ ।
जनवादी केन्द्रीयता र सामूहिक नेतृत्व प्रणाली अवलम्बन गर्दै जाने र पार्टीको निर्देशित सिद्धान्त माक्र्सवाद र लेनिनवाद रहने जानकारी दिँदै उनले राजनीतिक स्थायित्व र दिगो शान्ति कायम गर्दै राष्ट्रिय सुरक्षा र देशभक्तिलाई बढावा दिएर जाने नयाँ पार्टीले लक्ष्य राखेको जानकारी दिए । उनले एकताको महान् अभियानमा सहभागी हुन अरु कम्युनिष्ट पार्टीलाई पनि आह्वान गरे ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य जनार्दन शर्माले २० हजार ४४१ दिनपछि एकता प्रक्रिया सम्पन्न भएको जानकारी दिँदै सुशासन कायम गर्दै जनताको अपेक्षा पूरा गरिने उल्लेख गरे ।

32913824_1649736868476479_7582884564905754624_n 2

नेपाल कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा निवेदन दर्ता

 एकता गर्ने सहमतिपछि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निर्वाचन आयोगमा पुगेर ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ता गर्न निर्वाचन आयोगमा निवेदन बुझाएका छन् । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहालले आयोगमा पुगेर आफूहरुले पार्टी एकता गरेको र दल दर्ताका लागि निवेदन दिन आएको बताए । सो क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “दुई पार्टीको फरक अस्तित्व समाप्त भयो, यो कानूनी हिसाबले पनि दर्ता हुनु जरुरी छ, अब हामी दुवै पार्टी विधिवत् रुपमा एउटै भएका छौँ ।” उहाँले दुवै पार्टीबाट संयुक्त रुपमा केन्द्रीय कमिटी गठन गरेर दर्ताको निवेदन आयोगमा लिएर आएको उल्लेख गरे ।
अध्यक्षद्वय दुवैले आफूहरुले पार्टी एकता गर्ने निर्णय गरेको कागजात एमालेका नेता तथा पूर्वसभामुख सुवास नेम्वाङमार्फत बुझाएर आवश्यक हस्ताक्षर भएपछि ल्याइने प्रतिबद्धता व्यक्त गरे । अध्यक्षद्वयले लोकतन्त्रलाई संस्थागत गर्न र जनतासामु गरिएको प्रतिबद्धता पूरा गर्नका लागि पार्टी एकता गरेको उल्लेख गर्दै सुशासन, स्थिरता र विकासको काम जनताको अपेक्षनुरुपमा अघि बढाउने विश्वास दिलाए ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले लोकतन्त्र सफल पार्न धेरै दल हुनुभन्दा दलबीच पार्टी एकता हुनु मुलुकका लागि ठूलो उपलब्धि भएको उल्लेख गर्दै आयोगका तर्फबाट बधाई दिए । सो अवसरमा एमालेका नेता माधवकुमार नेपाल, रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापा, प्रवक्ता पम्फा भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्तीमगरलगायत दुवै पार्टीका नेताको उल्लेख्य उपस्थिति थियो ।