धरान / काशी तिवारी हत्याकाण्डमा जन्मकैद सजायको फैसला सुनाइएका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बिहीबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

सीआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले उनलाई फैसला कार्यन्वयका लागि पक्राउ गरिएको बताएका छन् । यसअघि उच्च अदालत, जनकपुरको वीरगञ्ज इजालासले काशी तिवारी हत्या काण्डमा जिल्ला अदालत, बाराले दिएको सफाइ उल्टाउँदै २० वर्ष कैदको सजाय सुनाएको थियो । उनी माओवादीबाट कटहरिया नगरपालिकामा मेयरमा निर्वाचित भएका थिए । उनी मेयर निर्वाचित हुनु अघि तत्कालिन सहरी विकास मन्त्री प्रभु शाहको स्वकीय सचिव थिए । यो फैसला २८ फागुनमै भएको भए पनि ढिला गरी सार्वजनिक भएको थियो ।