धरान । एक वर्षअघि जेनजी आन्दोलनका क्रममा आगजनी र लुटपाटबाट ध्वस्त भएको धरानको भाटभटेनी सुपरस्टोर बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। पुतलीलाइनस्थित भाटभटेनीले पुनर्निर्माण र संरचना स्तरोन्नतिपछि नयाँ स्वरूपमा ग्राहकलाई सेवा दिन थालेको हो। भदौं २४ मा ध्यस्त भएको भाटभाटेनी एक बर्ष पछि त्यही भदौं २४ मै पुन सञ्चालनमा ल्याएको छ ।
गत वर्ष भदौ २४ गतेको आन्दोलनका क्रममा धरानसहित देशभरका भाटभटेनीका २१ शाखामा क्षति पुगेको थियो। तीमध्ये १२ वटा शाखा पूर्ण रूपमा आगजनीबाट ध्वस्त भएका थिए। पूर्ण रूपमा जलेर नष्ट भएका शाखाको सूचीमा धरान पनि थियो।
भाटभटेनीले विभिन्न निकायमा पेस गरेको विवरणअनुसार धरान शाखामा मात्रै ५४ करोड ६२ लाख १७ हजार रुपैयाँ बराबरको क्षति भएको थियो। आगजनीबाट भवन तथा पूर्वाधारमा क्षति हुनुका साथै स्टोरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, विद्युतीय सामग्री, घरायसी सामानलगायतका ठूलो परिमाणका सामग्री जलेर नष्ट भएका थिए। लुटपाट र तोडफोडबाट समेत थप क्षति भएको थियो। भाटभाटेनी भित्र जलेर मृत्यु भएका ४ वटा शवको अवशेष भेटिएका थिए ।
देशभर भाटभटेनीमा भएको क्षति भने १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। भवन तथा पूर्वाधारमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार रुपैयाँभन्दा बढी, जलेर नष्ट भएका सामग्रीमा करिब ५ अर्ब ९६ करोड रुपैयाँ र लुटपाट तथा तोडफोडमा करिब ४९ करोड ५८ लाख रुपैयाँ क्षति भएको विवरण सार्वजनिक भएको छ।
आन्दोलनका क्रममा प्रदर्शनकारीले स्टोरमा प्रवेश गरी तोडफोड र लुटपाट गरेपछि आगजनी गरेका थिए। आगो निभेपछि धरानको पुतलीलाइनमा रहेको ठूलो व्यापारिक संरचना भग्नावशेषमा परिणत भएको थियो। स्टोरका सामान जलेर नष्ट भएका थिए भने भवनको संरचनासमेत प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको थियो।
त्यस घटनाको केही दिनपछि भाटभटेनीको भग्नावशेषमा जलेको अवस्थामा चारवटा शवसमेत फेला परेको थियो। प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। तर घ६नामा संलग्नको पहिचानसहित उजुरी दिदासमेत प्रहरीले उनीहरुलाई कुनै कारवाही गरेन । भाटभाटेनीसँगै धरानका राजनीतिक दलहरुका नेताहरुको नीजि घरमा तोडफोड र आगजनी गरिएको थियो ।
भाटभटेनी व्यवस्थापनले पूर्ण रूपमा क्षतिग्रस्त शाखाहरूलाई पुनर्निर्माण गर्दै सेवा सञ्चालनमा ल्याउँदै आएको छ। पछिल्लो विवरणअनुसार पूर्ण रूपमा ध्वस्त भएका १२ शाखामध्ये अधिकांश पुनः सञ्चालनमा आइसकेका छन्।
भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार पुनर्निर्माणका क्रममा क्षतिग्रस्त संरचना मात्रै पुरानै अवस्थामा फर्काइएको छैन, कतिपय स्टोरमा संरचना, प्रणाली र सामग्रीसमेत स्तरोन्नति गरिएको छ। क्षतिको रकमभन्दा पुनर्निर्माण खर्च २० देखि ३० प्रतिशतसम्म बढी भएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार अधिकांश स्टोर पूर्ण रूपमा क्षतिग्रस्त हुँदा पनि कर्मचारी कटौती गरिएको छैन। पहिले कार्यरत कर्मचारीलाई नै पुनः काममा फर्काउने नीति लिइएको व्यवस्थापनले जनाएको छ।



















