धरान /  धरान–१३ स्थित पब्लिक माध्यमिक विद्यालय, फुश्रेले गुणस्तरीय शिक्षा, उत्कृष्ट व्यवस्थापन र विद्यार्थीमा असल संस्कार विकास गर्ने लक्ष्यसहित आफ्नो ७४औँ वार्षिकोत्सव मङ्गलबार मनाएको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घीय, कोशी प्रदेश सरकार र धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण तथा सम्पन्न भएका विद्यालयका विभिन्न भवनको उद्घाटनसमेत गरिएको थियो ।

भवनको उद्घाटन कोशी प्रदेश सरकारकी सामाजिक विकास मन्त्री गीता तिम्सिना, संस्थापक सभामुख प्रदीपकुमार भण्डारी, धरान उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख आइन्द्रविक्रम बेघा र पूर्व कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीले संयुक्त रूपमा गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कार्कीले विद्यालयलाई भौतिक पूर्वाधारले मात्र नभई गुणस्तरीय सिकाइ, सक्षम व्यवस्थापन र विद्यार्थीको चरित्र निर्माणका दृष्टिले पनि नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्ने योजना प्रस्तुत गर्नुभयो ।

उहाँले बदलिँदो शैक्षिक आवश्यकता र प्रविधिको विकाससँगै विद्यालयको शिक्षण सिकाइ पद्धतिलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो । “विद्यालयको विकास भनेको भवन निर्माण मात्र होइन, यहाँबाट उत्पादन हुने विद्यार्थीको ज्ञान, सीप, व्यवहार र संस्कारमा देखिने परिवर्तन हो,” अध्यक्ष कार्कीले भन्नुभयो, “त्यसका लागि शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति र समुदायबीच सहकार्य आवश्यक छ ।”

विद्यालयमा उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने, शिक्षकको क्षमता विकास गर्ने तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने योजनासमेत उहाँले अघि सार्नुभयो । विद्यालयको शैक्षिक गुणस्तर सुधारमा समुदायको अपनत्व र सहयोगलाई प्राथमिकतामा राखिने उहाँको भनाइ थियो ।

“हामीले पब्लिक मावि फुश्रेबाट पढ्ने विद्यार्थीले आफूलाई समाजमा स्थापित गर्न सक्ने आधार तयार गर्नुपर्छ,” अध्यक्ष कार्कीले भन्नुभयो, “विद्यार्थीलाई परीक्षा उत्तीर्ण गराउने मात्र होइन, असल, अनुशासित र जिम्मेवार नागरिक बनाउने हाम्रो प्रमुख उद्देश्य हो ।”

कार्यक्रममा विद्यालयकी सहायक प्रधानाध्यापक सवि राईले स्वागत मन्तव्य व्यक्त गर्दै विद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि र चुनौतीबारे जानकारी गराउनुभयो । उहाँका अनुसार धरान उपमहानगरपालिका–२० र वडा नं‍. ४ का विभिन्न स्थानबाट विद्यार्थीहरू दैनिक करिब दुई घण्टा पैदल हिँडेरसमेत पब्लिक मावि फुश्रेमा अध्ययन गर्न आउने गरेका छन् ।

दुर्गम भौगोलिक अवस्थाका बाबजुद विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण कायम रहेको उल्लेख गर्दै सहायक प्रधानाध्यापक राईले विद्यालयको गुणस्तर सुधारमा समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विद्यालयलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन स्थानीय समुदाय, अभिभावक तथा सरोकारवालाको निरन्तर सहयोग आवश्यक रहेको धारणा राख्नुभयो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष कार्कीले विद्यालयका भावी योजना तथा शैक्षिक गतिविधिबारे जानकारी गराउँदै विद्यार्थीको सिकाइ उपलब्धि सुधारलाई पहिलो प्राथमिकतामा राखिने बताउनुभयो ।

कक्षा १२ सम्म अध्यापन हुने विद्यालयमा हाल तीन सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । वार्षिकोत्सवका अवसरमा विद्यालयका पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, पूर्व विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीको उल्लेख्य उपस्थिति रहेको थियो ।

fushre1