धरान । भोटेकोशीको भेलले बगाएका आफन्तको खोजी र ज्यान गुमाएकाहरूको आत्माको चिरशान्तिको कामना गर्दै सुनसरीका विभिन्न मन्दिरमा सोमबार मन्त्र गुञ्जिए । राष्ट्रिय शोक दिवसका अवसरमा ब्राह्मण समाज नेपाल सुनसरी र वैदिक कर्मकाण्ड परिषद् सुनसरीले जिल्लाका विभिन्न धार्मिक स्थलमा सामूहिक पाठ, जप र प्रार्थना गरेका हुन् ।

रसुवाको भोटेकोशी क्षेत्रमा गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको मुक्ति तथा बेपत्ता भएकाहरूको सकुशल उद्धारको कामना गर्दै धरानको गीता भवनसहित इटहरीको आँपगाछी, खनारको शिव मन्दिर, झुम्का, इनरुवाको मधेसा तथा बराहक्षेत्रमा धार्मिक पाठ पारायण गरिएको थियो ।

धरानस्थित गीता भवनमा ब्राह्मण तथा वैदिक कर्मकाण्ड परिषद्का सदस्यहरू भेला भएर श्रीमद्भागवत, श्रीमद्भगवद्गीता, पञ्चसूक्त, विष्णु सहस्रनाम र गजेन्द्र मोक्ष पाठ गरेका थिए । पाठपछि दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै मौनधारणसमेत गरिएको थियो ।

कार्यक्रममा ब्राह्मण समाज र वैदिक कर्मकाण्ड परिषद्का सदस्यहरू स्वयं उपस्थित भएर आ–आफ्नो विधिअनुसार पाठ तथा जप गरेका थिए । भोटेकोशी विपत्तिमा ज्यान गुमाएकाहरूको आत्माको शान्ति र बेपत्ता भएकाहरूको सकुशल खोजीका लागि धार्मिक अनुष्ठान गरिएको आयोजकले जनाएको छ ।

यसैबीच, सोमबार साँझ इटहरीको तरहरास्थित शिव मन्दिरमा दिवंगतहरूको सम्झनामा दीप प्रज्वलन गर्ने कार्यक्रमसमेत राखिएको छ ।

सरकारले भोटेकोशी विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा सोमबार राष्ट्रिय शोक दिवस मनाएको हो । सोही अवसरमा सुनसरीका विभिन्न धार्मिक तथा सामाजिक संस्थाले श्रद्धाञ्जली तथा प्रार्थनाका कार्यक्रम आयोजना गरेका छन् ।