धरान । सुधार नेपालले आयोजना गरेको वृहत् रक्तदान कार्यक्रमबाट एकैदिन ३५० पिन्ट रगत संकलन भएको छ।
धरानको भानुचोकमा शुक्रबार आयोजना गरिएको रक्तदान कार्यक्रममा बिहानैदेखि रक्तदाताको उत्साहजनक सहभागिता रहेको थियो। विभिन्न उमेर समूहका सर्वसाधारणले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।
सुधार नेपालले रगतको अभावका कारण उपचारमा समस्या भोगिरहेका बिरामीलाई सहयोग गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका पदाधिकारी, सदस्य तथा स्वयंसेवक परिचालन गरिएको थियो।
नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखाका किरणकुमार कार्कीका अनुसार चालु आर्थिक वर्षको हालसम्मको तथ्यांक हेर्दा सुधार नेपालले कोशी प्रदेशमा सबैभन्दा धेरै रगत संकलन गर्ने संस्थाका रूपमा आफूलाई स्थापित गरेको छ।
कार्कीका अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भएका रक्तदान कार्यक्रममध्ये एकैदिन ३५० पिन्ट रगत संकलन भएको यो उल्लेखनीय परिमाण हो। यस आधारमा सुधार नेपाललाई चालु आर्थिक वर्षमा कोशी प्रदेशकै उत्कृष्ट रक्तदाता संस्थाका रूपमा लिन सकिने उहाँको भनाइ छ।
उहाँले दुर्घटनामा परेका, शल्यक्रिया गर्नुपर्ने, सुत्केरी, क्यान्सर, थालासेमिया लगायतका बिरामीलाई नियमित रूपमा रगत आवश्यक पर्ने बताए। स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्दा रगतको अभाव कम गर्न सहयोग पुग्ने उहाँको भनाइ छ।
सुधार नेपालका अध्यक्ष निनाचन्द्र राईले मानव सेवामा योगदान पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भएको छ ।
“रगतको अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौं,” राईले भन्नु भयो । उहाँका अनुसार सुधार नेपालले रक्तदानसँगै धरानका विभिन्न वडामा सामाजिक सहयोग, जनचेतनामूलक कार्यक्रम तथा मानवीय सेवाका गतिविधि सञ्चालन गर्दै आएको छ। आगामी दिनमा युवालाई सामाजिक सेवामा जोड्दै रक्तदान तथा अन्य मानवीय सेवाका कार्यक्रमलाई थप विस्तार गर्ने संस्थाको योजना छ।
संकलित रगत आवश्यकताअनुसार विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा उपचाररत बिरामीका लागि प्रयोग गरिने नेपाल रेडक्रस सोसाइटीले जनाएको छ।
धरानमा विभिन्न संघसंस्थाले नियमित रूपमा रक्तदान कार्यक्रम गर्दै आए पनि एकैदिन ३५० पिन्ट रगत संकलन हुनु उल्लेखनीय उपलब्धि भएको आयोजकको भनाइ छ।



















