धरान । इस्कोन मन्दिरद्वारा आयोजित अन्तर–विद्यालय वाक्कला प्रतियोगितामा नवोदय कलेजकी छात्रा रिदिमा भुजेल प्रथम हुनु भएको छ।
विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा उत्कृष्ट वक्तृत्वकला प्रस्तुत गर्दै नवोदय कलेजको विज्ञान संकायअन्तर्गत कक्षा ११ ‘ए’ मा अध्ययनरत भुजेलले प्रथम स्थान हासिल गर्नु भएको हो।
प्रतियोगितामा प्रथम हुनु भएका भुजेलले नगद पुरस्कारसहित विजेता प्रमाणपत्र र मायाको चिनो प्राप्त गर्नु भएको छ। उहाँको सफलतासँगै नवोदय कलेजले अतिरिक्त क्रियाकलापमा हासिल गर्दै आएको उपलब्धिको निरन्तरता कायम भएको कलेजले जनाएको छ।
उपाधि हासिल गरेपछि खुसी व्यक्त गर्दै भुजेलले आफ्नो सफलताको श्रेय कलेजलाई दिनु भएको छ। उहाँले नवोदय कलेजले उत्कृष्ट पढाइसँगै विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासमा महत्वपूर्ण सहयोग पुर्याउँदै आएको बताउनु भएको छ।
‘यो सफलताको श्रेय म मेरो कलेजलाई दिन चाहन्छु,’ उहाँले भन्नु भएको छ, ‘मेरो रोजाइको नवोदय कलेजले मैले चाहेभन्दा उत्कृष्ट पढाइसँगै मेरो चौतर्फी व्यक्तित्व विकासमा ठूलो सहयोग पुर्याएको छ।’
रिदिमाको सफलताप्रति कलेजका प्रिन्सिपल डम्बर कुमार तुम्बापोले बधाई ज्ञापन गर्नु भएको छ। उहाँले नवोदयका विद्यार्थीहरू पढाइसँगै विभिन्न अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहँदै आएको बताउनु भएको छ।
त्यस्तै, कलेजका जनसम्पर्क अधिकृत राम बहादुर लिम्बूले कलेजको उद्देश्य किताबी ज्ञानमा मात्र सीमित नरहेको बताउनु भएको छ। उहाँका अनुसार २१औँ शताब्दीको आवश्यकता र समयअनुकूल विद्यार्थीलाई व्यावहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्नु कलेजको मुख्य लक्ष्य रहेको छ।
वाक्कला प्रतियोगितामा प्रथम हुनु भएकी रिदिमा भुजेललाई कलेज परिवार, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले बधाई ज्ञापन गर्दै आगामी दिनमा थप सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।



















