काठमाडौं । विपत्ति कहिल्यै खबर गरेर आउँदैन। जब विपत्ति आउँछ, त्यसले मानवीय जीवनसँगै परिवारका सपना, श्रम र वर्षौंको कमाइसमेत एकैछिनमा बगाइदिन सक्छ। रसुवामा आएको विनाशकारी बाढीले पनि त्यही पीडा छोडेको छ।

कतै परिवारका सदस्य हराएका छन्, कतै घरबार गुमेको छ। कतै रोजगारी र व्यवसायको आधार भत्किएको छ। बाढीको भेल थामिए पनि त्यसले छोडेको पीडा र अनिश्चितता भने अझै थामिएको छैन।

यस्तो कठिन समयमा राज्यका निकायसँगै निजी क्षेत्र, व्यवसायी, संघसंस्था र सर्वसाधारणबाट सहयोगका हातहरू अघि बढिरहेका छन्। यही मानवीय अभियानमा वानप्लस यातायात प्रालि परिवार पनि जोडिएको छ।

काठमाडौंलाई पूर्वी नेपाल तथा देशका विभिन्न भागसँग जोड्दै रात्री तथा दिवा सेवा सञ्चालन गर्दै आएको वानप्लस यातायातले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ हजार १ रुपैयाँ सहयोग गरेको छ।

रकमको हिसाबले यो सहयोग ठूलो नहुन सक्छ। तर विपत्तिको समयमा सहयोगको वास्तविक मूल्य रकमको अंकमा मात्र मापन हुँदैन। पीडितको दुःखमा आफू पनि साथमा छौँ भन्ने अनुभूति गराउनु यसको ठूलो अर्थ हो। वानप्लस यातायात प्रालिका अध्यक्ष घनेन्द्र विष्टका अनुसार बाढी–पहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिले यातायात व्यवसायी परिवारलाई पनि दुःखी बनाएको छ।

“विपत्तिमा परेका नागरिकको राहत तथा उद्धारमा प्रालिको तर्फबाट सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेका हौँ,” अध्यक्ष विष्टले भन्नु भयो । उनका लागि यो केवल एउटा संस्थागत सहयोग होइन, विपत्तिमा परेका नागरिकप्रतिको ऐक्यबद्धता पनि हो।

बाढीले सडक काट्छ। पुल बगाउँछ। यातायात अवरुद्ध हुन्छ। तर यातायात व्यवसायको जिम्मेवारी त्यतिमै सकिँदैन। यात्रुलाई एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउने व्यवसायसँग जोडिएको क्षेत्रले संकटको समयमा समाजसँगको आफ्नो सम्बन्ध पनि सम्झनुपर्ने हुन्छ।

वानप्लसले त्यही सम्बन्धलाई सहयोगमार्फत अभिव्यक्त गरेको छ। विपत्तिका बेला एउटा प्रश्न बारम्बार उठ्छ—सहयोग कति गरियो ? 

तर वानप्लस यातायातले दिएको सन्देश भने फरक छ—कति दियौँभन्दा पनि दुःखमा कति साथ दियौँ भन्ने महत्वपूर्ण भएको उहाँको बुझाई छ । 

अध्यक्ष विष्टले पनि सहयोगको रकम ठूलो वा सानोभन्दा पीडितको दुःखमा साथ दिनु र मानवीय सहयोगमा हातेमालो गर्नु महत्वपूर्ण रहेको बताउनु भएको छ । 

आज निजी क्षेत्र केवल व्यापार र नाफाको क्षेत्रमा सीमित छैन। समाजमा व्यवसायको उपस्थिति जति ठूलो हुँदै जान्छ, सामाजिक उत्तरदायित्वको अपेक्षा पनि त्यति नै बढ्छ। यातायात व्यवसाय त झन् समाजसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। दैनिक हजारौँ यात्रुको आवतजावतसँग जोडिने यातायात कम्पनीले समाजमा आइपर्ने संकटलाई केवल बाहिरी घटनाका रूपमा हेर्न सक्दैन। वानप्लस यातायातले गरेको सहयोगले यही सामाजिक जिम्मेवारीको एउटा पक्ष देखाएको नेपाल यातायात स्वतनत्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्याला राईले बताउनु भयो । 

विपत्तिमा राज्यको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। तर राज्यसँगै निजी क्षेत्र र नागरिक समाजको साथ पनि उत्तिकै आवश्यक हुन्छ। उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणको लामो यात्रामा सरकारी प्रयासलाई सामाजिक तथा निजी क्षेत्रको सहयोगले थप बलियो बनाउन सक्छ।

बाढीको तत्कालीन जोखिम घटे पनि प्रभावित परिवारका चुनौती सकिएका छैनन्। घर पुनःनिर्माण गर्नुपर्नेछ। जीविकोपार्जनको बाटो खोज्नुपर्नेछ। सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचना पुनःस्थापित गर्नुपर्नेछ। हराएका आफन्तको खोजी र पीडित परिवारको मनोवैज्ञानिक पुनःस्थापनासमेत उत्तिकै महत्वपूर्ण विषय हुन्।

वानप्लस यातायात परिवारले बाढीबाट प्रभावित सम्पूर्ण परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता भएका व्यक्तिहरूको शीघ्र खोज तथा सकुशल उद्धारको कामना गरेको छ। साथै प्रभावित परिवारहरू कठिन परिस्थितिबाट छिट्टै सामान्य जीवनमा फर्कन सकून् भन्ने कामनासमेत गरेको छ।