धरान । नेपालमा तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय दुईपांग्रे सवारी बजारमा बजाज अटो लिमिटेडले चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल C2501 र C3503 सार्वजनिक गर्दै आफ्नो पोर्टफोलियो थप विस्तार गरेको छ।

बजाजका दुईपांग्रे सवारीसाधनको नेपालस्थित एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा धरानको भोटेपुलस्थित अर्बिन ब्रदर्स अटोमा दुई नयाँ मोडल सार्वजनिक गरिएको हो।

कम मूल्यमा सहरी यात्राका लागि लक्षित C2501 र लामो रेन्ज, ठूलो स्टोरेज तथा थप सुविधासहितको C3503 सार्वजनिकसँगै बजाजले फरक आवश्यकता र बजेट भएका विद्युतीय स्कुटर प्रयोगकर्तालाई लक्षित गरेको जनाएको छ।

२ लाख ८१ हजारमा ११३ किलोमिटर रेन्ज

चेतक C2501 मा २.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री जडान गरिएको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा IDC प्रमाणित ११३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ।

स्कुटरको ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २ घण्टा २५ मिनेट लाग्ने कम्पनीले जनाएको छ।

यसमा इको र स्पोर्ट्स राइडिङ मोड, रिभर्स मोड, कलर्ड LCD डिस्प्ले तथा ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ। साँघुरा सडक वा पार्किङमा स्कुटर पछाडि सार्न रिभर्स मोड उपयोगी हुने कम्पनीको भनाइ छ।

C2501 मा अगाडि डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक उपलब्ध छ भने २५ लिटर क्षमताको अन्डर–सिट स्टोरेज र अगाडि खुला ग्लोभ बक्ससमेत दिइएको छ। स्कुटरको बडी पूर्ण मेटलबाट निर्माण गरिएको छ। यो IP67 स्तरको पानी तथा धुलो प्रतिरोधी रहेको कम्पनीको आधिकारिक विवरणमा उल्लेख छ।

म्युजिक प्ले/पज कन्ट्रोल, कल व्यवस्थापन, ‘गाइड–मी–होम’ लाइट जस्ता थप स्मार्ट फिचरमध्ये केही सुविधा TecPac प्याकमार्फत उपलब्ध हुन सक्नेछन्। वास्तविक उपलब्धता र संस्करणअनुसार फिचर फरक हुन सक्छ।

C2501 ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिक ह्वाइट, रेसिङ रेड, ओसन टिल म्याट र मिस्टी यल्लो गरी विभिन्न रंगमा उपलब्ध छ। यसको नेपाली बजार मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

लामो यात्राका लागि C3503

चेतक C3503 मा ३.५ किलोवाट आवर क्षमताको ठूलो लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ। यसले एकपटकको चार्जमा IDC प्रमाणित १५१ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसको अधिकतम गति ७० किलोमिटर प्रतिघण्टा सम्म रहेको छ। ० देखि ८० प्रतिशत चार्ज गर्न करिब ३ घण्टा २५ मिनेट लाग्छ।

C3503 मा इको र स्पोर्ट्स राइडिङ मोड, रिभर्स असिस्ट, कलर्ड LCD डिस्प्ले, ब्लुटुथ एप कनेक्टिभिटी, कल तथा म्युजिक नियन्त्रणजस्ता सुविधा समावेश छन्। मोडलमा ३५ लिटर क्षमताको फराकिलो अन्डर–सिट स्टोरेज उपलब्ध छ, जुन दैनिक प्रयोग तथा सामान बोक्नका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

अगाडि र पछाडि दुवैतर्फ १३० एमएमका ड्रम ब्रेक दिइएको छ। मेटल बडी, IP67 पानी तथा धुलो प्रतिरोधी सुरक्षा तथा हिल होल्ड असिस्ट जस्ता सुविधाले उकालो–ओरालो सडकमा थप सहजता दिने कम्पनीले जनाएको छ। हिल होल्ड तथा केही स्मार्ट फिचरको उपलब्धता संस्करण वा TecPac अनुसार फरक हुन सक्छ।

यसमा चेतकको पहिचान बोकेको घोडाको नाल आकारको DRL हेडलाम्प प्रयोग गरिएको छ, जसले रेट्रो डिजाइन र आधुनिक विद्युतीय प्रविधिको संयोजन प्रस्तुत गर्छ।

C3503 इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइबर ह्वाइट गरी चार रंगमा उपलब्ध छ। यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

‘फुल मेटल बडी’लाई जोड

नयाँ चेतक मोडलको प्रमुख विशेषतामध्ये एक यसको सोलिड मेटल बडी हो। विद्युतीय स्कुटर बजारमा धेरै मोडलहरू प्लास्टिक प्यानलमा आधारित रहेका बेला बजाजले मेटल बडीलाई चेतकको मजबुती र दीर्घकालीन प्रयोगको प्रमुख विशेषताका रूपमा प्रस्तुत गरेको छ।

C2501 र C3503 दुवैमा IP67 स्तरको पानी तथा धुलो प्रतिरोधी क्षमता रहेको कम्पनीको विवरणमा उल्लेख छ। यसले वर्षायाम तथा धुलोयुक्त सडकमा पनि विद्युतीय प्रणालीको सुरक्षामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

बजाजको नयाँ C-Series पोर्टफोलियोले मूल्य, रेन्ज र सुविधाका आधारमा ग्राहकलाई विकल्प दिने रणनीति लिएको देखिन्छ।

C2501 मुख्यतः दैनिक कार्यालय, कलेज तथा छोटो–मध्यम दूरीको सहरी यात्रालाई लक्षित मोडलका रूपमा प्रस्तुत गरिएको छ। ११३ किलोमिटर दाबी गरिएको रेन्ज, ६० किलोमिटर प्रतिघण्टासम्मको गति र तुलनात्मक रूपमा कम मूल्य यसको प्रमुख आकर्षण हुन्।

त्यस्तै C3503 लामो रेन्ज, ठूलो ३५ लिटर स्टोरेज, बढी गति र थप राइडिङ सुविधाको खोजी गर्ने ग्राहकका लागि लक्षित छ। बजाजले सन् २०२६ मा चेतकको C-Series मा विभिन्न प्रदर्शन तथा प्रविधिगत सुधार गर्दै पोर्टफोलियोलाई C25 र C35 लगायतका श्रेणीमा विस्तार गरेको जनाएको छ।

लन्चका क्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका बिक्री प्रमुख रामेश्वर घिमिरेले चेतकको लाइनअप विस्तारसँगै नेपालमा हरित मोबिलिटीको क्षेत्रमा बजाजको यात्रा थप उत्साहजनक चरणमा प्रवेश गरेको बताउनुभयो।

उहाँका अनुसार गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि फरक डिजाइन, रेन्ज र सुविधायुक्त दुई नयाँ मोडलमार्फत फराकिलो ग्राहकवर्गको आवश्यकता पूरा गर्ने लक्ष्य लिइएको छ।

कार्यक्रममा अर्बिन ब्रदर्स अटोका सञ्चालक अर्बिन तामाङले धरानलाई सुहाउदाे स्कुटी बजारमा आएकाे बताउनु भयाे ।

IMG-20260826-WA0008