काठमाडौं /  कैलालीको अत्तरिया बसपार्कमा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन महरले दिएको अभिव्यक्ति तथ्यहीन भएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सार्वजनिक क्षमायाचनाको माग गरेको छ।

भदौ ७ गते अपराह्न ४ः४२ बजे महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बससँग सम्बन्धित दुर्घटनामा बझाङ मस्टा घर भई अत्तरिया बस्दै आएकी ५३ वर्षीया सिन्की बोहराको मृत्यु भएको थियो ।

सांसद महरले भदौ ८ गते प्रतिनिधिसभाको बैठकमा उक्त घटनाबारे बसले ठक्कर दिएपछि अगाडि बढेको र पुनः पछाडि फर्किएर घाइते महिलालाई किचेर मृत्यु भएको आशयको अभिव्यक्ति दिएको संगठनको भनाइ छ ।

तर, घटनासम्बन्धी इलाका प्रहरी कार्यालय मालाखेती, अत्तरियामा सुरक्षित सीसीटीभी फुटेज तथा प्रारम्भिक तथ्य सांसद महरको अभिव्यक्तिसँग मेल नखाने संगठनले दाबी गरेको छ । संगठनका अनुसार सीसीटीभी फुटेजमा सवारीसाधन विस्तारै अगाडि बढिरहेको अवस्थामा पानी बिक्री गर्ने महिला यात्रुसँग कारोबार गर्ने क्रममा लडेको र सवारीको पछाडिको पाङ्ग्रामा परेर मृत्यु भएको देखिन्छ ।

संगठनले घटनाको सत्यतथ्य सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा सार्वजनिक गर्न माग गरेको छ ।

“संसदमा उठाइने विषय तथ्यपरक र प्रमाणमा आधारित हुनुपर्छ । न्यायको माग गर्नु जनप्रतिनिधिको दायित्व हो, तर प्रमाणबिना निर्दोष चालकलाई अपराधीका रूपमा चित्रित गर्नु स्वीकार्य हुँदैन,” संगठनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

संगठनले मृतक बोहराको परिवारलाई प्रचलित कानुनबमोजिम क्षतिपूर्ति तथा न्याय दिनुपर्ने, घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने र निर्दोष चालकलाई अन्याय हुन नदिनुनहुने माग गरेको छ । त्यस्तै, सांसद महरले संसदमा व्यक्त गरेको तथ्यहीन तथा यातायात श्रमिकको मानमर्दन हुने अभिव्यक्तिप्रति सार्वजनिक क्षमायाचना गर्नुपर्ने संगठनको माग छ ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले माग सम्बोधन नभए देशभरका यातायात श्रमिकहरू लोकतान्त्रिक तथा शान्तिपूर्ण रूपमा प्रतिवादमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । “तथ्यहीन अभिव्यक्तिप्रति क्षमायाचना नगरिए यातायात श्रमिकहरू आफूमाथि भएको अन्याय, अपमान र पूर्वाग्रहका विरुद्ध देशव्यापी रूपमा प्रतिवादमा उत्रन बाध्य हुनेछन्,” राईले भने ।

संगठनले दुर्घटनालाई भवितव्यका रूपमा मात्र नहेरी सडक सुरक्षा, चालकको कार्यपरिस्थिति र दुर्घटना न्यूनीकरणका लागि सरकार, व्यवसायी, श्रमिक तथा यात्रु सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको जनाएको छ ।

यस्ता छन्  संगठनका माग

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले अत्तरिया घटनाका सम्बन्धमा निम्न माग अघि सारेको छ: 

१. सीसीटीभी फुटेज, प्रहरी अनुसन्धान, प्रत्यक्षदर्शीको बयान तथा अन्य प्रमाणका आधारमा दुर्घटनाको सत्यतथ्य सार्वजनिक गरियोस् ।

२.  सांसद ऐन महरले संसदमा व्यक्त गरेको तथ्यहीन तथा यातायात श्रमिकको मानमर्दन हुने अभिव्यक्तिप्रति सार्वजनिक रूपमा क्षमायाचना गरियोस् ।

३. दुर्घटनामा ज्यान गुमाएकी सिन्की बोहराको परिवारलाई प्रचलित कानुनबमोजिम क्षतिपूर्ति तथा न्याय सुनिश्चित गरियोस् । तर निर्दोष चालकलाई अन्याय नहोस् ।

संगठनले पीडित परिवारले न्याय पाउनुपर्ने र निर्दोष यातायात श्रमिकमाथि अन्याय हुन नहुने स्पष्ट धारणा सार्वजनिक गरेको छ।