धरान । साउनको अन्तिम सोमबार। बिहानैदेखि धरान–१४ विजयपुरस्थित पिण्डेश्वर बाबाधाम परिसरमा भक्तजनको भीड बाक्लिँदै थियो। कोही टाउकोमा गेरुवा कपडा बाँधेर ‘बोलबम’ भन्दै आइरहेका थिए, कोही हातमा जलपात्र बोकेर शिवलिङ्गतर्फ अघि बढिरहेका थिए। सप्तकोशी र कोकाहा खोलाबाट जल बोकेर आएका भक्तजनका कारण विजयपुरको बाटोदेखि मन्दिर परिसरसम्म सोमबार बिहानै चहलपहल बढेको थियो।

साउन महिनाभर चल्ने बोलबम मेलाको अन्तिम सोमबार भएकाले पिण्डेश्वरमा यस वर्षकै सबैभन्दा ठूलो भीड लागेको व्यवस्थापन समितिले जनाएको छ। समितिका अनुसार सोमबार साँझसम्म करिब ६० हजार भक्तजनले दर्शन तथा जलाभिषेक गरेको बाबाधाम व्यवस्थापन समिति अध्यक्ष विकास बनेपालीले जानकारी दिनु भयो । 

भक्तजनको चाप आइतबार साँझदेखि नै बढेपछि मन्दिरको गर्भगृहमा जल चढाउने व्यवस्था रातिबाटै खुला गरिएको थियो। सामान्यतः सोमबार बिहान हुने भीड व्यवस्थापन गर्नुपर्ने भए पनि यसपटक रातिदेखि नै भक्तजनको आगमन बढेकाले ढोका खुला राख्नुपरेको व्यवस्थापन समितिका अध्यक्ष बनेपालीले बताउनु भयो । 

‘आइतबार रातिदेखि नै भक्तजनको चाप अत्यधिक थियो,’ बनेपालीले भन्नु भयो, ‘सोमबार साँझसम्म ६०।७ ० हजारले दर्शन गरे । साँझ आरतिका लागि पनि ठूलो भीड लागेको थियो । 

गत वर्षको तुलनामा भने यस वर्ष बोलबममा सहभागी हुने भक्तजनको संख्या केही घटेको समितिको आङ्कलन छ। धार्मिक मान्यताअनुसार साउनको पहिलो र दोस्रो सातामा गुरु बृहस्पति अस्त रहने भएकाले मांगलिक कार्य नगर्ने परम्पराले पनि भक्तजनको आवागमनमा केही प्रभाव पारेको समितिको बुझाइ छ। यद्यपि शिवको पूजा–आराधना गर्न मिल्ने भएकाले साउनभर पिण्डेश्वरमा भक्तजनको आगमन निरन्तर रह्यो।

सप्तकोशीबाट जल, विजयपुरसम्म पैदल

पिण्डेश्वरमा जल चढाउने बोलबम परम्परासँग चतराको सप्तकोशी नदी जोडिएको छ। भक्तजनहरू बराहक्षेत्रस्थित सप्तकोशी नदी र कोकाहा खोलामा स्नान गरी त्यहाँबाट जल लिएर पैदल विजयपुर पुग्ने गर्छन्। कतिपयले खाली खुट्टा यात्रा गर्ने परम्परालाई समेत निरन्तरता दिएका छन्।

चतराबाट जल लिएर धरानतर्फ उक्लिने सडकमा सोमबार बिहानैदेखि गेरुवा वस्त्र लगाएका भक्तजनको लर्को देखिन्थ्यो। हातमा जलपात्र, काँधमा झोला र मुखमा ‘बोलबम’को उच्चारण गर्दै भक्तजनहरू पिण्डेश्वरतर्फ अघि बढिरहेका थिए।

टाढाका जिल्लाबाट आएका कतिपय भक्तजन आइतबार नै चतरा पुगेर सप्तकोशीमा स्नान गर्छन्। त्यसपछि जल लिएर पैदल विजयपुर आउँछन्। रातभर जाग्राम बसेर सोमबार बिहान शिवलिङ्गमा जल चढाएपछि मात्रै घर फर्किने उनीहरूको परम्परा छ।

धार्मिक आस्था र यात्राको संगम

पिण्डेश्वर बाबाधाममा जल चढाउने परम्परा केवल धरान आसपासका भक्तजनमा सीमित छैन। साउनको सोमबार सुनसरीसँगै मोरङ, झापा, उदयपुरलगायत पूर्वी नेपालका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन्।

सप्तकोशीको जल पिण्डेश्वरमा चढाउँदा मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण हरेक वर्ष बोलबम यात्रामा सहभागी हुनेको संख्या ठूलो हुने गरेको छ। विशेषगरी साउनको सोमबार र अन्तिम सोमबार पिण्डेश्वरमा भक्तजनको चाप अत्यधिक हुने गर्छ।

यसपटक पनि अन्तिम सोमबारको भीडलाई लक्षित गरी मन्दिर व्यवस्थापन समितिले रातिदेखि नै जलाभिषेकको व्यवस्था मिलाएको थियो। भक्तजनको चाप बढ्दै गएपछि मन्दिर परिसर र विजयपुर क्षेत्रमा व्यवस्थापन चुनौतीपूर्ण बने पनि दर्शन तथा जलाभिषेकको क्रम भने निरन्तर चलिरहेको थियो।

साउनको सुरुदेखि गेरुवा रंगमा रंगिएको विजयपुर सोमबार साँझसम्म बोलबमको नाराले गुञ्जिनेछ। सप्तकोशीबाट बोकेर ल्याइएको जल पिण्डेश्वरको शिवलिङ्गमा चढाउँदै भक्तजनले यस वर्ष भदौंको दोश्रो सातासम्म जल चढाए बोलबम यात्रालाई पनि टुंग्याउँन ेछन् ।