धरान / धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विश्व स्तनपान सप्ताहको अवसरमा स्तनपानमैत्री स्वास्थ्य सेवा सुदृढ गर्ने उद्देश्यले स्वास्थ्य शिक्षा तथा व्यवहारिक प्रशिक्षण आयोजना गरिएको छ ।
बाल स्वास्थ्य नर्सिङ विभागको सुपरिवेक्षणमा चौथो वर्षका बीएस्सी नर्सिङका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा नवजात तथा शिशु उपचारमा संलग्न नर्सिङ जनशक्तिलाई स्तनपानसम्बन्धी अद्यावधिक ज्ञान, कानुनी व्यवस्था र व्यवहारिक सीपबारे शुक्रबार प्रशिक्षण दिइएको थियो ।
यस वर्षको विश्व स्तनपान सप्ताहको नारासँग जोडेर आयोजित कार्यक्रममा जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान, दुई वर्ष वा सोभन्दा बढी समयसम्म निरन्तर स्तनपान, आमाको दूधका विभिन्न चरण, स्तनपान गराउने सही विधि, आमा–शिशुलाई हुने स्वास्थ्य लाभ, शिशुमैत्री अस्पताल अवधारणा, शिशु तथा साना बालबालिकाको आहार, नेपालमा स्तनपानसम्बन्धी कानुनी व्यवस्था तथा मानव दूध बैंकको अवधारणाबारे प्रस्तुति गरिएको थियो ।
कार्यक्रममा एनआइसियु, पिआइसियु, नर्सरी तथा नियोनेटल वार्डमा कार्यरत नर्सिङ स्टाफको सहभागिता रहेको थियो । पोस्ट–टेस्टमा उत्कृष्ट नतिजा ल्याउने १२ जना नर्सिङकर्मीलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रममा बाल स्वास्थ्य नर्सिङ विभागका प्रमुख प्रा. डा. उपेन्द्र यादव, प्रा. बसन्तकुमार कर्ण, शालिनी मेहता, शान्ति कुमारी, एनआइसिय इन्चार्ज अनिता यादव, नियोनेटल वार्ड इन्चार्ज सरस्वती श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमका अध्यक्ष प्रा. डा. उपेन्द्र यादवले विद्यार्थीको नेतृत्वमा सञ्चालन भएका यस्ता कार्यक्रमले अस्पतालको स्तनपानमैत्री सेवा विस्तार गर्न र नर्सिङ अभ्यासलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

















