इनरुवा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) इनरुवा नगर कमिटीले ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा सुनसरी जिल्ला अस्पताल, इनरुवामा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरेको छ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा विहीबार आयोजित कार्यक्रममा अस्पतालमा भर्ना भई उपचार गरिरहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको एमाले इनरुवा नगर कमिटीले जनाएको छ।

कार्यक्रममा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद मेहेता, इनरुवा नगरपालिकाका पूर्वमेयर खेमराज पोखरेल, एमालेका पूर्व केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, एमाले सुनसरीका जिल्ला अध्यक्ष परशुराम यादव, एमाले कोशी प्रदेश कमिटी सदस्यहरू कालुराम गुरुङ र राजकुमार दंगाल, पूर्व प्रदेश कमिटी सदस्य लोकेश निरौलासहित जिल्ला तथा नगर तहका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

एमाले इनरुवा नगर कमिटीका अध्यक्ष प्रेम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुष्पलाल श्रेष्ठले अघि सारेका लोकतान्त्रिक र समाजवादी विचारलाई व्यवहारमा उतार्दै सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।