धरान । धरान–१६ स्थित नवोदय प्लस ं२ यु एन कलेजले कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूलाई भारतको सिलिगुरीमा रहेको प्रख्यात ‘साइन्स सिटी’ मा शैक्षिक अवलोकन भ्रमण गराएको छ।
विद्यार्थीहरूले विज्ञानलाई पाठ्यपुस्तकमा सीमित नराखी प्रयोगात्मक रूपमा बुझ्न, प्रत्यक्ष अवलोकन गर्न र वैज्ञानिक अवधारणाप्रति रुचि तथा जिज्ञासा अभिवृद्धि गर्न सकून् भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको कलेज प्रशासनले जनाएको छ।
कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले विज्ञान विषय अनुभव र प्रयोगमा आधारित भएकाले विद्यार्थीलाई व्यवहारिक सिकाइसँग जोड्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो।
उहाँले भन्नुभयो, “विद्यार्थीहरूले विज्ञानका सिद्धान्त केवल कक्षाकोठामा अध्ययन गरेर मात्र पर्याप्त हुँदैन। वैज्ञानिक अवधारणा व्यवहारमा कसरी प्रयोग हुन्छन्, विज्ञानले समाज र विश्वलाई कसरी परिवर्तन गरिरहेको छ भन्ने विषय प्रत्यक्ष अवलोकन र अनुभवबाट बुझ्न सकून् भन्ने उद्देश्यले शैक्षिक भ्रमणको आयोजना गरेका हौँ।”
कलेजका जनसम्पर्क अधिकृत रामबहादुर लिम्बूका अनुसार भ्रमणपछि विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि, जिज्ञासा र सिकाइप्रति थप उत्साह देखिएको छ। सहभागी विद्यार्थीहरूले साइन्स सिटीमा पुस्तकमा अध्ययन गरेका विभिन्न वैज्ञानिक सिद्धान्त र प्रविधिलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउँदा सिकाइ अझ प्रभावकारी बनेको प्रतिक्रिया दिएका छन्।
उनीहरूले यस्ता शैक्षिक भ्रमणले विज्ञानलाई व्यवहारिक रूपमा बुझ्न सहयोग पुगेको बताउँदै भविष्यको अध्ययन र अनुसन्धानप्रति समेत प्रेरणा मिलेको उल्लेख गरेका छन्।
कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरूको व्यवहारिक, अनुसन्धानमुखी तथा बौद्धिक क्षमता विकासका लागि यस्ता शैक्षिक तथा सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।




















