धरान / धरान नगर स्थापना भएको प्रारम्भिक कालदेखि स्थानीयवासीको प्रमुख खानेपानी स्रोतका रूपमा प्रयोग हुँदै आएको धरान–३ गोल्सीस्थित ऐतिहासिक ‘गौरी कुवा’को जीर्णोद्धार गरिएको छ। कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा कुवाको संरक्षण, पानी सङ्कलन ट्याङ्की, परम्परागत ढुंगेधारा तथा परिसरको सौन्दर्यीकरण गरिएको हो।
कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थको संसद विकास कोषबाट आर्थिक वर्ष २०८२र८३ मा विनियोजित आठ लाख रुपैयाँबाट उक्त योजना कार्यान्वयन गरिएको हो। सोमबार आयोजित कार्यक्रममा सांसद कायस्थले पुनर्निर्मित संरचनाको उद्घाटन गर्नुभयो।
स्थानीयका अनुसार विजयपुरको तीनधारेबाट भूमिगत रूपमा बगेर आउने प्राकृतिक मुहानको पानीबाट गौरी कुवा बनेको हो। धरान स्थापना कालदेखि स्थानीयवासीले खानेपानीका रूपमा प्रयोग गर्दै आएको यो कुवा पछिल्ला वर्षमा घरघरमा खानेपानी सेवा विस्तार भएसँगै उपेक्षित बन्दै गएको थियो। यद्यपि, स्थानीयवासीले लुगा धुने, नुहाउने तथा काजकिरियाका क्रममा खाना पकाउने र शुद्धीकरणका कार्यका लागि यसको प्रयोग गर्दै आएका छन्।
जीर्णोद्धारपछि कुवाको पानी सुरक्षित रूपमा संरक्षण गर्न १० हजार लिटर क्षमताको पानी सङ्कलन ट्याङ्की निर्माण गरिएको छ। सर्वसाधारणलाई सहज रूपमा पानी उपयोग गर्न ऐतिहासिक स्वरूप झल्किने ढुंगेधारा निर्माण गरिएको छ भने परिसरको समेत सौन्दर्यीकरण गरिएको छ।
उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य कायस्थले ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण राज्यको दायित्व भएको बताउनुभयो। स्थानीयवासीको मागअनुसार गौरी कुवा परिसरलाई काजकिरिया गर्ने व्यवस्थित स्थलका रूपमा विकास गर्न आगामी आर्थिक वर्षमा थप सात लाख रुपैयाँ बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कुवासँगै रहेको छाप्रोलाई पुनःनिर्माण गरी किरिया घरका रूपमा व्यवस्थित गरिने जानकारी दिनुभयो।
सांसद कायस्थले धरानका अन्य ऐतिहासिक पानीका मुहानको पहिचान गरी संरक्षण तथा प्रवर्द्धनका लागि स्थानीय सरकारलाई आवश्यक पहल गर्न सुझावसमेत दिनुभयो।
धरान–३ का वडाध्यक्ष विद्या शाक्यले लामो समयदेखि उपेक्षित रहेको ऐतिहासिक सम्पदाको संरक्षण सम्भव भएकोमा कोशी प्रदेश सरकार तथा प्रदेशसभा सदस्य कायस्थप्रति आभार व्यक्त गर्नुभयो। यस्ता सम्पदाको संरक्षणले नयाँ पुस्तालाई धरानको इतिहाससँग परिचित गराउन महत्त्वपूर्ण योगदान पुग्ने उहाँको भनाइ थियो।
उद्घाटन कार्यक्रममा वडा सदस्य मिङमा भोटे, मनिष खड्गी, आदिवासी जनजाति महासङ्घ धरानका अध्यक्ष सुरेन्द्रमान स्थापित, नेवा पासा खलका अध्यक्ष अमृत श्रेष्ठलगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।
धरानको इतिहाससँग जोडिएका प्राकृतिक पानीका मुहान आधुनिक खानेपानी प्रणाली विस्तारसँगै क्रमशः ओझेलमा पर्दै गएका छन्। गौरी कुवाको जीर्णोद्धारसँगै यस्ता ऐतिहासिक पानीका स्रोतको संरक्षण र प्रवर्द्धनमा स्थानीय तह तथा प्रदेश सरकारको ध्यान केन्द्रित हुन थालेको स्थानीयवासीको विश्वास छ।




















