धरान / रोटरी क्लब अफ धरानको आयोजना तथा जीवन विज्ञान कोशी प्रदेश परिषद् र शारदा बालिका नमूना माध्यमिक विद्यालय धरानको सहकार्यमा तीन दिने ऊर्जा ध्यान शिविर सम्पन्न भएको छ। स्वस्थ जीवनशैली, मानसिक शान्ति र सकारात्मक ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

रोटरी क्लब अफ धरानका पूर्वअध्यक्ष रविन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशसभा सदस्य यशोदा कायस्थले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएकाे थियाे । 

 प्रदेशसभा सदस्य कायस्थले योग भनेको मानिस, मन र प्रकृतिबीचको जोड भएको उल्लेख गर्दै योग, ध्यान र प्राणायामले शरीरलाई स्वस्थ, मनलाई शान्त र जीवनलाई सुखी बनाउने बताउनुभयो। "स्वास्थ्य नै पहिलो धन हो," उहाँले भन्नुभयो, "मानसिक शान्ति, सकारात्मक सोच र स्वस्थ समाज निर्माणका लागि ध्यानको विशेष महत्व छ। सबै नागरिकले यसको लाभ लिन सकून् भन्ने उद्देश्यले यस्ता कार्यक्रम आवश्यक छन्।" उहाँले नियमित ऊर्जा ध्यानमार्फत व्यक्ति स्वयं स्वस्थ बन्नुका साथै समाज र विश्वलाई पनि शान्त, स्वस्थ र सद्भावपूर्ण बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा जीवन विज्ञान कोशी प्रदेशका संयोजक केदार कार्की, सुनसरी संयोजक तीर्थराज घिमिरे, कोशी प्रदेशका पूर्वसंयोजक वालिका भट्टराई, प्रदेश सदस्य विश्वराज भट्टराईलगायतको उपस्थिति रहेको थियो। शारदा बालिका नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मनारायण सिंहले अतिथिहरूलाई स्वागत गर्दै विद्यालयमा यस्ता स्वास्थ्य र व्यक्तित्व विकाससँग सम्बन्धित कार्यक्रमले विद्यार्थी तथा समुदायलाई सकारात्मक सन्देश दिने बताउनुभयो।

कार्यक्रमको संयोजन दिया श्रेष्ठले गर्नुभएको थियो। समापनका अवसरमा रोटरी क्लब अफ धरानका पूर्वअध्यक्ष रविन श्रेष्ठले सहयोगी संस्था, अतिथि तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। शिविरमा विभिन्न क्षेत्रका सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ।