धरान / पछिल्लो समय डिजिटल प्रविधिको प्रयोगसँगै आर्थिक तथा वित्तीय अपराध तथा अनलाइन ठगीका घटना बढ्दै गएपछि धरानस्थित नवोदय प्लस–टु यूएन कलेजमा विद्यार्थीलाई लक्षित गरी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।
इलाका प्रहरी कार्यालय धरानको सहकार्यमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ सई देवीबहादुर कार्कीले आर्थिक तथा वित्तीय अपराधका बदलिँदा स्वरूप, साइबर सुरक्षाका चुनौती तथा अनलाइन ठगीबाट बच्ने उपायबारे जानकारी गराउनुभयो।
उहाँले अपरिचित व्यक्तिबाट फोन, एसएमएस वा सामाजिक सञ्जालमार्फत आउने आकर्षक प्रस्ताव, नक्कली लगानी योजना, क्यूआर कोड स्क्यान गर्न लगाउने, ओटीपी, पासवर्ड तथा बैंक खातासम्बन्धी गोप्य विवरण माग्ने गतिविधिप्रति विशेष सतर्क रहन विद्यार्थीलाई आग्रह गर्नुभयो। व्यक्तिगत बैंकिङ तथा डिजिटल विवरण कसैसँग पनि साझा नगर्न र शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरी वा सम्बन्धित निकायलाई जानकारी गराउन उहाँले सुझाव दिनुभयो।
कार्यक्रममा नवोदय प्लस–टु यूएन कलेजका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले डिजिटल प्रविधिको विस्तारसँगै साइबर अपराधको जोखिम पनि बढ्दै गएको उल्लेख गर्दै डिजिटल साक्षरता, कानुनी सचेतना र सामाजिक सञ्जालको जिम्मेवार प्रयोग आजको आवश्यकता भएको बताउनुभयो।
वरिष्ठ सई कार्कीले अनलाइन माध्यमबाट हुने ठगी, बैंकिङ अपराध, डिजिटल वालेटको दुरुपयोग तथा सामाजिक सञ्जालमार्फत हुने आर्थिक अपराधका वास्तविक उदाहरण प्रस्तुत गर्दै विद्यार्थीलाई यस्ता अपराधबाट कसरी सुरक्षित रहने भन्नेबारे जानकारी गराउनुभएको थियो।
कलेजका जनसम्पर्क प्रमुख रामबहादुर लिम्बूका अनुसार अभिमुखीकरण कार्यक्रमको पहिलो चरणमा कक्षा १२ का विभिन्न सेक्सनका ६६ जना विद्यार्थी सहभागी भएका थिए। आगामी दिनमा अन्य कक्षाका विद्यार्थीलाई समेत यस्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गरिदै जाने कलेजले जनाएको छ।




















