हङकङ। किरात राई यायोक्खा हङकङको आयोजनामा हङकङको कि लुन चुङ, सान्तिनस्थित ‘सुप्तुलुङखिम’ (चुलाघर) मा ‘प्रथम किरात राई भाषा महोत्सव २०२६’ सम्पन्न भएको छ।

हङकङमा बसोबास गर्ने किरात राई समुदायका भाषाहरूको सम्मान, संरक्षण र पुनरुत्थान गर्ने मुख्य उद्देश्यकासाथ आयोजित यस महोत्सवले विविधतामा एकताको सन्देश दिने बताइएको छ। कार्यक्रममा चाम्लिङ, दुमी, साम्पाङ, बान्तवा, पुमा, थुलुङ, बायुङ र कोयी-कोयु समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

किरात राई यायोक्खा हङकङका अध्यक्ष गजेन्द्र राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संरक्षकहरू हेजेन राई, रजिन राई, हरिचन्द्र राई, चन्द्रका (माया) राई, संस्थापक सचिव रामली थुलुङ राई, किरात राई प्रज्ञा प्रतिष्ठानका कुलपति शशि मदन राई, विभिन्न भाषिक संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। महासचिव राजेन्द्र राईले सञ्चालन गरेको उक्त कार्यक्रममा १८ वर्षमुनिका बालबालिकादेखि ६५ वर्षमाथिका ज्येष्ठ नागरिकसम्मको सहभागिताले भाषा संरक्षणको महाअभियानमा पुस्तान्तरणको महत्त्वलाई दर्साएको थियो।

कार्यक्रममा बान्तवा भाषामा प्रताप राईले कविता वाचन गरेका थिए भने कोयी-कोयु किमका अध्यक्ष प्रकाश राई, साम्पाङ जुम्लेखाका सचिव मनिराज साम्पाङ र चाम्लिङ खाम्बातिमका अध्यक्ष भुपाल चाम्लिङ राईले आ-आफ्नो मातृभाषामा साहित्यिक सिर्जनासहित मन्तव्य राख्दै भाषा संरक्षणको अपरिहार्यतामा जोड दिनु भयाे ।  यो महोत्सवले युनेस्को (UNESCO) द्वारा घोषित अन्तर्राष्ट्रिय मातृभाषा दिवसको भावनासँग तादात्म्य राख्दै आयोजित यो महोत्सवले हङकङको प्रवासी किरात राई समुदायको भाषा बचाउने संघर्षलाई विश्वव्यापी आन्दोलनसँग जोड्ने प्रयास गरेको बुझिएको छ।

कार्यक्रमका अध्यक्ष गजेन्द्र राईले, हङकङमा किरात राई भाषाहरूको विविधतालाई जोगाइराख्न र बढ्दो संकटलाई चिर्न यो महोत्सवले सार्वजनिक जागरण ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयाे ।