धरान ।  आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको ‘नेपालले पनि भारतीय सीमा मिचेको’ भन्ने अभिव्यक्तिको तरंग राजधानीबाट विभिन्न जिल्लाहरुमा  पुगेको छ । प्रधानमन्त्रीको उक्त भनाइप्रति असन्तुष्टि जनाउँदै सोमबार धरानमा उहाँको तस्बिर दहन गरिएको छ भने राष्ट्रघाती अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्।

बस्ती रक्षा आन्दोलन परिचालन समितिको आयोजनामा भएको विरोध प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री शाहको तस्बिर जलाएका थिए। तस्बिर दहनका क्रममा प्रहरीले अवरोध गर्ने प्रयास गरे पनि प्रदर्शनकारीहरूले विरोध जारी राखेका थिए। कार्यक्रममा सहभागीहरूले ‘बालेन मुर्दावाद’, ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता गर’, ‘सीमा मिच्ने होइन, सीमा जोगाउने कुरा गर’ लगायतका नाराबाजी गरेका थिए।

प्रदर्शन छाताचोकबाट सुरु भएर नगरको मुख्य बजार क्षेत्र हुँदै भानुचोक पुगेपछि कोणसभामा परिणत भएको थियो। प्रदर्शनमा विभिन्न राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ता, सुकुम्बासी बस्तीका प्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

वक्ताहरूले प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई मात्र नभई सुकुम्बासी बस्तीमाथि डोजर चलाउने निर्णयप्रति पनि आक्रोश व्यक्त गरेका थिए। उनीहरूले जनताको आवास, जीविकोपार्जन र राष्ट्रिय स्वाभिमानसँग जोडिएका विषयमा सरकार र प्रधानमन्त्री दुवैले गैरजिम्मेवार भूमिका खेलेको आरोप लगाए ।

कोणसभालाई सम्बोधन गर्दै एमाले नेता चन्द्र भूजेल, नेकपा नेता चोत्लुङ तथा नेपाल बसोवासी बस्ती संरक्षण समाजका अध्यक्ष कुमार कार्की लगायतले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको स्थापित राष्ट्रिय अडानलाई कमजोर बनाएको बताउनु भयो । उहाँहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका नेपाली भूभागका विषयमा संसदबाटै विवादास्पद अभिव्यक्ति आउनु दुःखद भएको बताउनु भयो ।

वक्ताहरूले हालै सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम तथा आगामी बजेटमार्फत जनजीवनमा प्रत्यक्ष असर पर्ने विभिन्न क्षेत्रमा करको भार बढाइएको  पनि बताउनु भयो । उहाँहरूको भनाइमा महँगी र आर्थिक संकटले थलिएको जनतालाई राहत दिनुको सट्टा सरकारले थप बोझ थोपर्ने काम गरेको छ।

प्रधानमन्त्री शाहको संसद् अभिव्यक्तिपछि देशका विभिन्न स्थानमा विरोधका स्वर उठ्न थालेका छन्। काठमाडौंमा नेविसंघले प्रदर्शन गरिसकेको छ भने राष्ट्रियसभामा समेत प्रधानमन्त्रीको भनाइबारे स्पष्टिकरण माग गर्दै सांसदहरूले बैठक अवरुद्ध गरेका थिए। प्रमुख राजनीतिक दलहरूले पनि प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाइसकेका छन्।

धरानमा भएको सोमबारको प्रदर्शनले प्रधानमन्त्रीको सीमा सम्बन्धी भनाइ अब केवल संसदीय बहसको विषय मात्र नभई सडक आन्दोलनको मुद्दा बन्दै गएको संकेत गरेको छ। विपक्षी राजनीतिक शक्तिहरूले यसलाई राष्ट्रिय स्वाधीनता र राष्ट्रिय भावनासँग जोडेर उठाउन थालेपछि विवाद अझ चर्किने संकेत देखिएको छ।