धरान / धरान फुटबलको गौरवपूर्ण पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण योगदान दिएका धरानका व्यावसायिक फुटबल खेलाडी मिलन राई सम्मानित हुनु भएकाे छ। चौथो “हाम्रो धरान भेट्रान फुटबल प्रतियोगिता २०८३” को फाइनल खेलको अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबले उहाँलाई नगद २१ हजार तथा सम्मानपत्र प्रदान गर्दै विशेष सम्मान गरेको हो।

धरानको स्थानीय फुटबल मैदानबाट आफ्नो खेल जीवनको सुरुवात गर्नु भएका मिलन राई नेपाली फुटबलका स्थापित खेलाडीमध्ये एक हुन् । उहाँले स्थानीय क्लबदेखि ए डिभिजन क्लबहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू हुँदै नेपाली राष्ट्रिय टोलीसम्म आफ्नो प्रतिभा प्रदर्शन गर्दै धरानको नामलाई देश तथा विदेशमा परिचित गराउन  उल्लेखनीय भूमिका निर्वाह गर्नु भएकाे छ ।

 उक्त अवसरमा हाम्रो धरान भेट्रान फुटबल क्लबका अध्यक्ष  अशोककुमार राईले मिलन राईले सम्मानपत्र तथा नगद पुरस्कार हस्तान्तरण गर्दै उहाँको खेल जीवनको उच्च मूल्यांकन गर्नु भयाे । अध्यक्ष राईले धरानको फुटबल विकासमा मिलन राईको योगदान अतुलनीय रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि उहाँले नेपाली फुटबल र युवा पुस्तालाई प्रेरित गरिरहने विश्वास व्यक्त गर्नु भयाे ।