धरान / धरानमा आयोजित “एसईई स्पिकर–२०८३, सिजन–६” अन्तर्गत विद्यार्थीहरूले नमुना संसद् सञ्चालन गर्दै “विद्यालय शिक्षा विधेयक–२०८३” बहुमतले पारित गरेका छन् ।
धरान–८ स्थित सहिद स्मृति माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा सहभागीहरूले समसामयिक विषयमा धारणा प्रस्तुत गरेका थिए भने दोस्रो चरणमा नमुना संसद् सञ्चालन गरिएको थियो ।
प्रतियोगितामा पब्लिक हाईस्कुलकी तमन्ना बान्तवा राई विजेता घोषित हुनुभयाे । सरस्वती माध्यमिक विद्यालयकी प्रीन्जा विश्वकर्मा प्रथम उपविजेता, डीपी बिलिभर्स इङ्लिस स्कुलकी खुशी लिम्बू द्वितीय उपविजेता तथा जेम सेकेन्डरी बोर्डिङकी पूजा बान्तवा राई तृतीय उपविजेता बन्नु भयाे ।
उपाधितर्फ सरस्वती माध्यमिक विद्यालयकी रचना श्रेष्ठ “मोस्ट पङ्क्चुअल”, हिमालयन बोर्डिङकी जेनिसा थापा “मोस्ट डिसिप्लिन्ड” तथा हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी फुङ्निमा लिम्बू “बेस्ट प्रेजेन्टेसन” घोषित हुनु भयाे ।
प्रतियोगिताको निर्णायकमा महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक राजेश विद्रोही तथा मकालु इङ्लिस बोर्डिङ, इटहरीका शिक्षक जेपी काफ्ले रहनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक प्रमुख अइन्द्रविक्रम बेघा तथा विशेष अतिथि सहिद स्मृति माध्यमिक विद्यालयका प्रधानाध्यापक राम विष्ट रहनुभएको थियो । विजेता तथा उपविजेताहरूलाई अइन्द्रविक्रम बेघा, राम विष्ट तथा च्याम्पियन सेकेन्डरी स्कुलकी प्रिन्सिपल नाजु सुबेदीले ट्रफी, प्रमाणपत्र र खादा प्रदान गरी सम्मान गर्नुभएको थियो ।
र्याडिकल लाइट नेपाल प्रालिले आयोजना गरेको प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूको नेतृत्व क्षमता, तार्किक सोच तथा सार्वजनिक अभिव्यक्ति विकास गर्नु रहेको आयोजकले जनाएको छ ।



















