काठमाडौं / नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सरकारले यातायात क्षेत्रप्रति सौतेलो व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। मन्त्रालय हेरफेरपछि गठन गरिएको मन्त्रिपरिषद्मा यातायात क्षेत्रलाई अलग्गै रूपमा समेटिएको नदेखिएपछि संगठनका अध्यक्ष भीमज्वाला राईले सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो।
शुक्रबार जारी विज्ञप्तिमा अध्यक्ष राईले यातायातविनाको मन्त्रिपरिषद्को परिकल्पना गर्नु मुटुविनाको मानव शरीरजस्तै भएको उल्लेख गर्नुभएको छ। “जसरी मुटुले शरीरमा रक्तसञ्चारको काम गर्छ, त्यसैगरी यातायात क्षेत्रले देशको समृद्धि र विकासमा रक्तसञ्चारको भूमिका निर्वाह गरेको हुन्छ,” विज्ञप्तिमा भनिएको छ।
उहाँले सरकारले जनसरोकारका विषयलाई सम्बोधन गर्न चाहेको हो भने छुट्टै यातायात मन्त्रालय गठन गरी आफ्नो कमजोरी सच्याउनुपर्ने सुझाव दिनुभएको छ। वैशाख ३१ गते प्रधानमन्त्री बालेन्द्र साहको सिफारिसमा मन्त्रिपरिषद्को गठन, हेरफेर तथा कार्यविभाजन गर्दा साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट यातायात क्षेत्र हटाइएको थियो।
अध्यक्ष राईले उक्त निर्णयले यातायात क्षेत्रमा रहेको करिब १५ खर्ब रुपियाँ निजी लगानी, करिब १३ लाख यातायात श्रमिक तथा दैनिक करिब ३० लाख सार्वजनिक यातायात प्रयोगकर्ताको अधिकारको अवमूल्यन गरेको बताउनुभएको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय समितिले सार्वजनिक यातायात सुधारप्रति सरकार उदासीन रहेको आरोपसमेत लगाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात क्षेत्रभन्दा भौतिक पूर्वाधारका काममा बढी केन्द्रित भएकै कारण सार्वजनिक यातायात क्षेत्र अपेक्षाअनुसार सुधार हुन नसकेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
लगानीको संरक्षण तथा प्रवर्द्धन, श्रमिकको काम र जीवन सुरक्षाका साथै जनताको सेवा अधिकार सुनिश्चित गर्न छुट्टै यातायात मन्त्रालय आवश्यक रहेको अध्यक्ष राईले बताउनुभएको छ। सुशासन र विकासको नारा दिएर गठन भएको सरकारले अत्यावश्यक मानिएको यातायात मन्त्रालयलाई नै बेवास्ता गर्नु सरकार आफ्नै नारा र प्रतिबद्धताबाट विचलित भएको संकेत भएको उहाँको भनाइ छ।
इतिहासमा कहिले श्रम मन्त्रालयअन्तर्गत त कहिले भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत राखिएको यातायात क्षेत्रलाई अब कुनै मन्त्रालयसँग गाभ्न नहुने संगठनको धारणा छ। छुट्टै यातायात मन्त्रालय गठन नगरिए देशभरका यातायात मजदुर तथा व्यवसायी आन्दोलनमा उत्रिने चेतावनीसमेत संगठनले दिएको छ।



















