धरान । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २७औँ स्मृति दिवस आइतबार धरानमा मनाइएको छ ।
नेकपा एमाले १५ न वडाको आयोजनामा श्यामचोकस्थित उहाँको शालिकमा माल्यार्पणसहित स्मृति सभा सम्पन्न गरिएको हो। कार्यक्रममा नेकपा एमालेका नेता–कार्यकर्ता, स्थानीयवासी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले मनमोहन अधिकारीलाई सिद्धान्तमा अडिग, जनताको हितमा समर्पित र सादगीपूर्ण जीवनशैलीका धनी नेताका रूपमा स्मरण गर्नु भयो । अधिकारीले नेपालमा कम्युनिष्ट आन्दोलनलाई संस्थागत गर्न खेलेको भूमिका ऐतिहासिक रहेको उहाँले उल्लेख गर्नु भयो ।
भण्डारीका अनुसार अधिकारीले नेपाल कम्युनिष्ट पार्टी स्थापना हुनुभन्दा अघिदेखि नै राजनीतिक संघर्ष सुरु गरेका थिए। भारतमा रहँदा उहाँले भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सक्रिय भूमिका निर्वाह गर्दै जेल जीवन बिताएको प्रसंग उहाँले स्मरण गराउनु भयो ।
त्यसैगरी, भूमिगत राजनीतिक जीवनका क्रममा धरान–४ मा समेत उहाँले सेल्टर लिएको चर्चा गर्दै स्थानीय स्तरमा उहाँको सम्बन्ध र योगदानको प्रसंगसमेत उल्लेख गर्नु भयो ।
२०५१ सालमा उहाँको नेतृत्वमा गठन भएको नौ महिने सरकारको उपलब्धीहरूलाई विशेष रूपमा स्मरण गरिएको थियो । उक्त अवधिमा सामाजिक सुरक्षा भत्ता जस्ता जनमुखी कार्यक्रमको सुरुवात गरी राज्यलाई जनतामुखी बनाउने काम उहाँले सुरुवात गर्नु भएको भण्डारीलृे स्मरण गराउनु भयो ।
कार्यक्रममा नेकपा एमाले धरान–१५ को आयोजनामा विभिन्न राजनीतिक दलका नेता तथा स्थानीय बासिन्दाहरूले समेत शालिकमा माल्यार्पण गर्दै अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। वडा अध्यक्ष ज्ञानेन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका प्रदेश, जिल्ला, नगरका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
वर्तमान राजनीतिक परिवेशमा पनि मनमोहन अधिकारीको निष्ठा, पारदर्शिता र जनताप्रतिको प्रतिबद्धता अनुकरणीय रहेको उल्लेख गर्दै उहाँका आदर्शलाई व्यवहारमा उतार्नुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो । नेपालको वामपन्थी आन्दोलनलाई लोकतान्त्रिक अभ्याससँग जोड्दै जनताको जीवनस्तर उकास्ने दिशामा योगदान दिनु भएका अधिकारी आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोतका रूपमा स्मरण गरिन्छन्।




















