सप्तकोशी । महंगु लेखी वृद्धाश्रम सफतकोशीद्वारा आयोजित एक कार्यक्रममा विभिन्न सञ्चारकर्मी, प्रजातान्त्रिक आन्दोलनका अगुवा तथा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको छ। कार्यक्रम सप्तकोशी नगरपालिका–५, गंगाजलीमा सम्पन्न भएको हो।
जनता टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक तथा सप्तकोशी सेरोफेरो डटकमका सम्पादक खगेन्द्र कार्कीसहित विभिन्न सञ्चार माध्यमका सम्पादकहरू सम्मानित भएका छन्। कार्यक्रम राजकुमार लेखी (संरक्षक, महंगु लेखी वृद्धाश्रम तथा मधेश प्रदेशका पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री) को अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा मधेश प्रदेशका सभामुख राम असिस यादव रहनु भएको थियो ।
कार्यक्रममा सञ्चार क्षेत्रबाट समाज रूपान्तरण तथा विभिन्न आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सञ्चारकर्मीहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मानित सञ्चारकर्मीहरूमा प्रकाश खतिवडा, श्रवण कुमार देव (अध्यक्ष, नेपाल पत्रकार महासंघ सप्तरी) मधेश आमसञ्चार प्रतिष्ठानका अध्यक्ष, जितेन्द्र खड्गा, भोला पासवान, राजकुमार पासवान, बृजमान तामाङ, अनिल पोखरेल, उत्सव आचार्य तथा बीपी कोइरालालगायत रहेका छन्।
यसैगरी प्रजातान्त्रिक आन्दोलनमा योगदान पुर्याएका अगुवाहरूलाई पनि सम्मान गरिएको थियो। सम्मानित हुनेहरूमा पूर्वमन्त्री सत्यनारायण मण्डल, समाजसेवीहरु दिवाकर देवकोटा, मुरारी कार्की, हेमराज तातेड, उपेन्द्र कुमार झा, रविन्द्र चौधरी, रमेश कार्की, दिनेश्वर प्रसाद चौधरी, उपेन्द्र चौधरी, देव नारायण श्रेष्ठ र रामदेव चौधरी रहनु भएको छ ।
कार्यक्रममा ८० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूलाई समेत सभामुख यादवले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामअसिस यादवले देश परिवर्तन र सामाजिक रूपान्तरणमा विभिन्न क्षेत्रबाट योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गर्नु सकारात्मक कार्य भएको उल्लेख गर्दै यसले भावी पुस्तामा लोकतान्त्रिक मूल्यप्रति प्रेरणा दिने बताउनु भयो ।
सम्मानित पूर्वमन्त्री सत्यनारायण मण्डलले आफ्नो योगदानको मूल्यांकन भएकोमा खुशी व्यक्त गर्दै प्रजातन्त्रलाई जीवन पद्धतिको रूपमा आत्मसात गर्नुपर्ने धारणा राखे। पूर्वमन्त्री हेमराज तातेडले वर्तमान सरकारका केही गतिविधिप्रति असन्तुष्टि जनाउँदै समयमै सुधार नभए राजनीतिक दलहरू कमजोर हुने चेतावनी दिनु भयो ।
त्यस्तै नेता दिवाकर देवकोटा ले नेताहरूको अहंकारका कारण जनविश्वास घटेको टिप्पणी गर्दै जनतासँग पुनः विश्वास कायम गर्न सोच परिवर्तन आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष राजकुमार लेखीले राष्ट्रप्रति समर्पित प्रजातान्त्रिक योद्धा, सञ्चारकर्मी तथा ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाएकोमा खुशी व्यक्त गर्नु भयो । वृद्धाश्रमले ज्येष्ठ नागरिकहरूको संरक्षण र सम्मानमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।




















