२०५६ साल (सन् २०००) मा पशुपतिनगरमा भीषण आगलागी भयो । करोडौंको भौतिक क्षति पशुपतिनगरवासीले बेहोर्नु पर्यो । त्यो केवल एउटा स्थानीय विपत्ति मात्र थिएन, त्यो घटना संसारभर छरिएका इलामेलीहरूको मनलाई झस्काउने एउटा घटना थियो । त्यही पीडाबाट हङ्कङमा एउटा साझा भावनाले ओपप्रोत भई ‘समाजका लागि केही गर्नुपर्छ’ भनेर इलाम समाज हङ्कङको जन्म भयो । विदेशमा रहेका इलामेलीहरू जसमा वसन्त राई(विपिन), सुमित्रा राई, प्रकाश सुनुवार, पदम राईलगायतले राहत सङ्कलन गर्दै जाँदा केवल सहयोग अभियान मात्र होइन, एउटा संस्थागत संरचनाको आवश्यकता महसुस भयो । त्यही आवश्यकताबाट आज २५ वर्षे इतिहास बोकेको सशक्त सामाजिक संस्था बनेर इलाम समाजले इलामेलीहरूका लागि मलहमपट्टीको काम गरिरहेको छ ।

इलाम समाज हङ्कङको कथा लेख्दा यसको नेतृत्वको चर्चा अगाडि आउँछ । अध्यक्ष वसन्त राई (विपिन) केवल संस्थाका प्रशासकीय प्रमुख मात्र होइनन्, उनी भावनात्मक रूपमा समुदायलाई जोड्ने सेतु भएको पाइन्छ । सन् २००० तिर हङ्कङमा पुगेका उनी त्यतिबेलादेखि नै संस्थाको नेतृत्वमा सक्रिय थिए र आजसम्म निरन्तर ऊर्जा प्रदान गर्दै आएको पाइन्छ । उनले लामो समय नेपालीहरूको जेठो संस्था फियानो हङ्कङको पनि नेतृत्व गरे । उनका लागि संस्था केवल औपचारिक संरचना मात्र होइन, ‘इलाम’ नामले जोडिएका मनहरूको साझा घर बनेको छ । उनको नेतृत्वमा संस्थाले विपद् व्यवस्थापनदेखि सांस्कृतिक संरक्षणसम्म बहुआयामिक भूमिका खेलेको छ । २०५६ साल (सन् २०००)मा इलाममा आएको बाढीपहिरोमा साढे १० लाख रुपैयाँ राहत जुटाउनेदेखि लिएर उपचार अभावमा रहेका बिरामीलाई सहयोग गर्ने कार्यले उनको नेतृत्वको संवेदनशीलता देखाउँछ ।

प्रवासमा जीवन अनिश्चित हुन्छ—कसलाई कहिले के पर्छ भन्ने थाहा हुँदैन । यही यथार्थ बुझेर इलाम समाज हङ्कङले ‘सहयोग र सहकार्य’ लाई आफ्नो मूल मन्त्र बनाएको छ । आगो, बाढी, महामारी—जस्तोसुकै सङ्कटमा पनि संस्था एकजुट भएर अघि बढेको छ । साथै, चाडपर्व, दुःख–सुख, बिरामी–स्वास्थ्यको खबर आदानप्रदान गर्दै समुदायबीच आत्मीयता कायम राख्नु यसको अर्को बलियो पक्ष हो । प्रवासमा पनि गाउँकै अनुभूति दिलाउने यसको क्षमता नै यसको वास्तविक सफलता देखिन्छ ।
गत असोजमा इलाममा आएको विपत्तिमा पनि समाजले उल्लेखनीय सहयोग उपलब्ध गराएको छ । समाजका अध्यक्ष वसन्त राईका अनुसार मृतक परिवारलाई १० हजार र घाइतेलाई १५ हजार रुपैयाँका दरले सहयोग उपलब्ध गराएको छ । इलाममा गत असोजमा मौसमी विपद्मा ३९ जनाले ज्यान गुमाएका थिए । जसमध्ये पहिरोबाट ३७ र खोलाले बगाएर दुई जनाको मृत्यु भएको थियो । २६ जना घाइते भएका थिए भने ७ सय ११ परिवार विस्थापित भएका थिए । ३ सय ६५ घरमा पूर्ण र ९ सय ४० वटामा आंशिक क्षति पुगेको थियो ।
इलाम समाज हङ्कङ केवल सामाजिक संस्था मात्र होइन, सिर्जनशीलताको केन्द्रका रूपमा पनि विकसित भएको पाइन्छ । संस्थाले विगतमा आयोजना गरेका ‘गणेश रसिक साङ्गीतिक साँझ’, ‘कुवेर राई साँझ’ लगायतका कार्यक्रमले प्रवासमा नेपाली कला जोगाउने मात्र होइन, नयाँ पुस्तालाई प्रेरणा दिने काम पनि गरिरहेको छ । गणेश–यशोदा पराजुली साङ्गीतिक साँझ, निर्जला पराजुली साङ्गीतिक साँझ, सुनिता थेगिम साँझजस्ता कार्यक्रम हङ्कङेली इलाम समाजले गरिसकेको छ ।

प्रत्येक वर्ष इलाम साँझमा इलामका उदयीमान कलाकारहरूले हङ्कङ घुम्ने अवसर मात्र पाएका छैनन्, प्रवासमा आफ्नो कला देखाउन पनि पाएका छन् । अप्रिल ११ तारिखमा भएको २०२६ को ‘इलाम साँझ’ का लागि वसन्त राई दुई दिनअगाडि अमेरिकाबाट आएका इलामेली कलाकार रोशन गुरुङलाई हङ्कङ एयरपोर्टमा लिन जोर्डनको गल्लीमा चिरपरिचित साथीभाइहरूलाई इलाम साँझका लागि निम्ता दिँदै डुल्दै थिए । इलाम समाजले नेपालका धेरै कलाकारहरूलाई हङ्कङ घुम्ने अवसर जुराइदिएको छ । साहित्यतर्फ पनि समाजले उत्तिकै काम गर्दै आएको छ । आफ्ना जिल्लावासीको पुस्तक प्रचारदेखि साहित्यिक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई थप लेखनमा हौसला पनि दिँदै आएको छ ।
विकाससँग जोडिएको समाज
इलाम समाज हङ्कङ केवल सहयोगमा मात्र सीमित छैन; यो आफ्नो जन्मथलोको विकासप्रति पनि उत्तिकै चिन्तित छ । पानीटार क्षेत्रलाई केन्द्र बनाएर पर्यटन प्रवद्र्धन गर्ने सम्भावना, सडक सञ्जालको विस्तार र जिल्लालाई एकीकृतरूपमा घुम्न सकिने रुट विकास यी सबै विषयमा संस्थाले सोच अघि सारेको पाइन्छ । २०८२ साल (सन् २०२६) मा २५औँ वार्षिकोत्सव मनाउँदै इलाम समाज हङ्कङले ‘इलाम’ रजत जयन्ती विशेषाङ्क नै प्रकाशित गरेको छ । स्मारिकालाई इतिहास, सङ्घर्ष र सम्भावनाको दस्तावेजको रूपमा उजागार गराएको छ । इलामका प्रतिभादेखि त्यहाँका पर्यटकीय गन्तव्य, विकासका सम्भवनालगायत विषयमा विशेषाङ्कमा उधिन्ने काम गरिएको छ ।
विपत्तिबाट जन्मिएको संस्था आज विश्वभरका इलामेलीहरूको साझा पहिचान बन्नु बाध्यता र रहरले संसारका विभिन्न देशमा पुगेका नेपालीहरूका लागि एउटा उदाहरण बनेको छ । यसको केन्द्रमा उभिएका वसन्त राई (विपिन) जस्ता नेतृत्वले देखाएको समर्पणले नै यो सम्भव भएको हो । इलाम समाजबाट अन्य समाजले सिक्ने निकै विषय र अवसरहरू छन् । ब्लाष्ट दैनिकबाट




















