फत्तेपुर /  सप्तरीको सप्तकोसी नगरपालिका वडा नम्बर १ स्थित फत्तेपुर बसपार्क क्षेत्र यतिबेला धुलो, खाल्डाखुल्डी र स्थानीय जनताको आक्रोशले ढाकिएको छ । सडकमा गुड्ने सवारीसाधनसँगै उड्ने धुलोले यहाँका बासिन्दाको दैनिकी मात्रै होइन, स्वास्थ्यसमेत संकटमा पारेको छ । वर्षौंदेखि समस्यासँग जुधिरहेका स्थानीयहरू अन्ततः सोमबार सडकमै उत्रिए । बसपार्कदेखि भगवती मन्दिरसम्मको सडकखण्ड अवरुद्ध पार्दै उनीहरूले सडक मर्मत र धुलो नियन्त्रणको माग गरे ।

स्थानीयका अनुसार यो सडक अहिले सडकभन्दा बढी धुलोको मैदानजस्तै बनेको छ । कालोपत्रे उक्किएर ठाउँठाउँमा गहिरा खाल्डाखुल्डी परेका छन् । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बन्ने यो सडकले यहाँका नागरिकलाई दुई दशकदेखि सास्ती दिँदै आएको छ । सडकमा गुड्ने ओभरलोड सवारीसाधनबाट झर्ने बालुवा र स्थानीय सरकारले मर्मतको नाममा सडकमा छर्ने बालुवाले समस्या झन् विकराल बनेको स्थानीयहरूको गुनासो छ ।

स्थानीय जयराम ढुंगानाका अनुसार पटक–पटक नगरपालिका र वडा कार्यालयमा धुलो नियन्त्रण तथा सडक मर्मतका लागि आग्रह गर्दा पनि कुनै सुनुवाइ भएन । “सडकमा सवारी गुड्नेबित्तिकै धुलोको मुस्लो उठ्छ । घरभित्र बस्न सकिँदैन, पसल चलाउन सकिँदैन । स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ,” उहाँले गुनासो गर्दै भन्नेनु भयो, “आफ्नो स्वास्थ्यपूर्वक बाँच्न पाउने अधिकारको माग गर्दै बाध्य भएर सडकमा उत्रनुपरेको हो ।”

यो समस्या झन् संवेदनशील यस कारण पनि बनेको छ कि सडक नजिकै स्वास्थ्य चौकी, सरकारी विद्यालय, वडा कार्यालय तथा बैंक तथा वित्तीय संस्थाहरू रहेका छन् । दैनिक सयौँ मानिस ओहोरदोहोर गर्ने यो क्षेत्रमा उड्ने धुलोले बिरामी, विद्यार्थी र सेवाग्राही सबै प्रभावित भएका छन् । स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीहरू धुलोकै कारण थप समस्यामा पर्ने गरेको स्थानीयको भनाइ छ । उता विद्यालयमा अध्ययन गर्न आउने बालबालिकाको स्वास्थ्यसमेत जोखिममा परेको अभिभावकहरू बताउँछन् ।

स्थानीय नवराज खत्री भन्नुहुन्छ, “जनतालाई प्रत्यक्ष सेवा दिने सरकारी कार्यालय, बैंक र स्वास्थ्य संस्था यही सडकछेउमा छन् । यति धेरै धुलो उडेर मानिस बिरामी भइरहेका छन्, तर स्थानीय सरकार बेखबरझैँ बनेर बसेको छ । त्यसैले जनता सडकमा आउन बाध्य भएका हुन् ।”

फत्तेपुर बसपार्क क्षेत्रको यो समस्या नयाँ भने होइन । २०७४ सालको स्थानीय तह निर्वाचनपछि सप्तकोसी नगरपालिकाले ३२ लाख रुपैयाँ बजेट विनियोजन गरेर नहरको पुलदेखि सहिद स्मृति रंगशालासम्म सडक कालोपत्रे गरेको थियो । सुरुमा सडकले स्थानीयलाई केही राहत दिए पनि समयमै मर्मत सम्भार नहुँदा सडक फेरि जीर्ण बन्यो । क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनको नियमित आवागमनले सडक भत्किँदै गयो । तर खाल्डाखुल्डी पुर्न दीर्घकालीन उपाय अपनाउनुको सट्टा बालुवा छर्ने काम मात्र हुँदै आएको स्थानीयको आरोप छ ।

धुलो र हिलोको यो समस्या फत्तेपुर बसपार्कमा मात्रै सीमित छैन । बलार्दह चौकलगायतका क्षेत्रमा पनि स्थानीयले यस्तै समस्या झेलिरहेका छन् । स्थानीय तह निर्वाचन २०७९ पछि नयाँ जनप्रतिनिधिहरूसँग धेरै आशा गरिएको थियो । तर २०८३ साल आउँदासमेत समस्या समाधान हुनुको सट्टा झन् जटिल बन्दै गएको स्थानीयहरू बताउँछन् ।

यता मेयर कृष्णप्रसाद ढकालले भने सडक निर्माणका लागि नगरपालिका प्रयासरत रहेको बताउनु भएको छ । उहाँका अनुसार राष्ट्रिय माध्यमिक विद्यालय फत्तेपुरदेखि बसपार्कसम्म सडक कालोपत्रेका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर पटक–पटक टेन्डर आह्वान गर्दा पनि कुनै निर्माण व्यवसायीले आवेदन नदिँदा काम अघि बढ्न नसकेको उहाँले बताउनु भयो । नगरपालिकाले चौथोपटकसम्म टेन्डर आह्वान गरिसकेको उहाँको भनाइ छ ।

निर्माण व्यवसायीहरूका अनुसार भने समस्या बजेट र लागत अनुमानमै छ । नगरपालिकाले पुरानै दररेटका आधारमा लागत स्टिमेट तयार पार्दा अहिलेको बजार मूल्यअनुसार काम गर्न सम्भव नभएको उनीहरूको दाबी छ । पेट्रोलियम पदार्थ, अलकत्रा तथा निर्माण सामग्रीको मूल्य अत्यधिक बढिसकेको अवस्थामा पुरानो लागतमा ठेक्का लिन नसकिने उनीहरू बताउँछन् ।

स्थानीय सरकार, निर्माण व्यवसायी र प्रशासनबीचको यही असमझदारीको मार अहिले सर्वसाधारणले खेपिरहेका छन् । धुलोले ढाकिएको सडकमा हरेक दिन नागरिकको स्वास्थ्य, व्यापार र दैनिकी प्रभावित भइरहेको छ । विकासको नाममा बनेको सडक अहिले जनजीवनका लागि अभिशाप बनेको स्थानीयको गुनासो छ ।

स्थानीयहरू अब केवल आश्वासन होइन, काम चाहन्छन् । सडक निर्माण अघि नबढ्दासम्म धुलो नियन्त्रणका तत्काल उपाय अपनाउनुपर्ने उनीहरूको माग छ । सडकमा नियमित पानी छर्किने, ओभरलोड सवारी नियन्त्रण गर्ने र अस्थायी मर्मतलाई प्रभावकारी बनाउने काम तत्काल हुनुपर्ने उनीहरूको भनाइ छ । अन्यथा धुलोसँगै जनआक्रोश पनि अझ बढ्दै जाने संकेत देखिएको छ ।