क्यानाडा /  ब्रिटिस कोलम्बिया मा बसोबास गर्ने किरात राई समुदायले पहिलोपटक सामूहिक रूपमा ऊभौली पर्व मनाएका छन् । शनिवार बेयर क्रिक पार्क मा साकेला सिली प्रदर्शनसहित पर्व मनाइएको हो ।

कार्यक्रममा किराती तथा गैरकिराती गरी सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको आयोजकले जनाएको छ । सामुदायिक पहलमा आयोजना गरिएको कार्यक्रममा साकेला सिली प्रदर्शनलाई मुख्य आकर्षणका रूपमा राखिएको थियो ।

कार्यक्रम संयोजक सञ्जय याङ्बाङ ले संस्थागत रूपमा नभए पनि समुदायस्तरबाट पहिलोपटक ऊभौली पर्व आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विदेशमा अध्ययन र कामको व्यस्तताबीच पनि आफ्नो संस्कृतिको संरक्षण गर्ने उद्देश्यले साथीभाइ मिलेर कार्यक्रम आयोजना गरिएको हो ।

उहाँले सहभागीहरूले व्यक्तिगत रूपमा रकम संकलन गरी साकेला नाचमा प्रयोग हुने बाजागाजा नेपालबाट ल्याएको बताउनुभयो ।

कार्यक्रममा जेष्ठ किराती अभिभावक अरुण राई लाई फेटा लगाएर सम्मान गरिएको थियो । उहाँकै हातबाट ढोल खोली कार्यक्रमको शुभारम्भ गरिएको आयोजकले जनाएको छ । साथै किरात राई यायोक्खा का पूर्व महासचिव सोमा राई लाई “सांस्कृतिक जागरण योद्धा” का रूपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा ब्रिटिस कोलम्बिया विश्वविद्यालय मा विद्यावारिधि अध्ययनरत अनुदिप देवानरिस्ता राई ले साकेला सिलीको महत्व र यसको सांस्कृतिक पक्षबारे जानकारी गराउनुभएको थियो ।

यसैगरी किराती संस्कृति र इतिहाससम्बन्धी प्रश्नोत्तर कार्यक्रमसमेत आयोजना गरिएको थियो । प्रतियोगितामा सहभागी सात जनालाई पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा किराती परम्परागत परिकारसमेत राखिएको थियो । सहभागीहरूलाई चाम्रे, गुन्द्रुकको अचार, वाचिपा (तिते) तथा फिलुङ्गेको अचारलगायत परिकार चखाइएको थियो ।

आयोजकका अनुसार यही मे ३० मा आयोजना हुने नेपाल हेरिटेज डे कार्यक्रममा पनि साकेला सिली प्रदर्शन गरिनेछ । उक्त कार्यक्रम ब्रिटिस कोलम्बिया प्रदेश सरकार को पहलमा आयोजना हुन लागेको हो ।