वृद्धाश्रमका अनुसार उक्त कार्यक्रम २०८३ साल बैशाख ४ गते शुक्रबार आयोजना गरिनेछ। कार्यक्रम मधेश प्रदेश सभा सदस्य तथा निवर्तमान गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको अध्यक्षतामा तथा मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेछ।
“दलित विद्यार्थीलाई शैक्षिक सामग्री वितरणसहित प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम” शीर्षकमा सञ्चालन हुने कार्यक्रममा पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेका तथा जेल–हिरासतमा यातना भोगेका प्रजातान्त्रिक योद्धाहरूलाई विशेष सम्मान गरिने जनाइएको छ।
सम्मानित हुने व्यक्तित्वहरूमा सत्यनारायण मण्डल, जयप्रकाश गुप्ता, हेमराज तातेड, विनोद दत्त, दिवाकर देवकोटा, उपेन्द्र झा, मुरारी कार्की, रवीन्द्र चौधरी, रमेश कार्की, उपेन्द्रनारायण चौधरी, देवनारायण श्रेष्ठ, सुरेश पोखरेल, जयसुन्दर महतो, दिपनारायण लेखी, दिनेश्वर चौधरी, शिवनन्दन शाह, सन्ताेष कार्की, कुमार पौडेल लगायत रहेका छन्।
यसका साथै बहुदलीय व्यवस्था तथा प्रजातन्त्र स्थापनाका लागि निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका सप्तरी निर्वाचन क्षेत्र नं. १ का अन्य प्रजातान्त्रिक योद्धाहरूलाई पनि सम्मान गरिनेछ।
कार्यक्रममा समाजमा उल्लेखनीय योगदान पुर्याउँदै आएका विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरूलाई सम्मान गरेकाे छ । जनता टाइम्स साप्ताहिकका कार्यकारी सम्पादक खगेन्द्र कार्कीसहित पत्रकार भोला पासवान, श्रवणकुमार देवलगायतलाई सम्मान गरिएकाे छ। साथै ज्येष्ठ नागरिकहरूलाई पनि सम्मान गरिनेछ।
दलित समुदायका विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने उद्देश्यले आवश्यक शैक्षिक सामग्री वितरण गरिने आयोजकले जनाएको छ।
उक्त कार्यक्रमले समाजमा योगदान दिएका व्यक्तित्वहरूको सम्मान गर्दै नयाँ पुस्तामा सकारात्मक प्रेरणा प्रदान गर्ने विश्वास लिइएको छ। कार्यक्रममा सम्पूर्ण सरोकारवाला निकाय, स्थानीयवासी तथा आम नागरिकलाई उपस्थितिका लागि आयोजकले आग्रह गरेको छ।



















