हङकङ। द नेप्लिज एसोसिएसन हङकङले धरानको सामाजिक विकासमा सहयोग पुर्याउने उद्देश्यले नेपाली चलचित्र ‘मैझारो’को हङकङमा च्यारिटी शो आयोजना गर्ने भएको छ।
चर्चित कलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को लेखन तथा निर्देशन रहेको यस चलचित्र आगामी १७ मे (साँझ ६ बजे) जोर्डनस्थित याउ मा तेइ कम्युनिटी सेन्टरमा प्रदर्शन गरिने आयाेजकले जनाएकाे छ ।
नेप्लिज एसोसिएसनका अध्यक्ष प्रदीप थापाका अनुसार यस प्रदर्शनीबाट संकलित रकम धरानको सार्वजनिक पूर्वाधार निर्माणमा खर्च गरिनेछ। विशेषगरी, धरान उपमहानगरपालिका–४ स्थित छोटीमोरङ (भेडेटार नजिक) मा निर्माणाधीन ‘थाउजेन्ड बिग बुद्ध’ क्षेत्रमा जाने करिब ३ सय मिटर बाटो र सवारी पार्किङ स्थल निर्माणका लागि यो रकम सहयोग गरिने उहाँले बताउनु भयाे ।
धीरज मगर, मिरुना मगर, दिया पुन, रजनी गुरुङ, पुष्कर गुरुङ, बुद्धि तामाङ, सुनिल थापा, माओत्से गुरुङ र प्रेम सुब्बा लगायतका चर्चित कलाकारहरूको मुख्य अभिनय रहेको चलचित्र प्रदर्शनका लागि निर्देशक विल्सन विक्रम राई स्वयं हङकङ आउने कार्यक्रम छ।
आयोजकले यस परोपकारी अभियानमा सहभागी हुन हङकङबासी नेपालीहरूमा आवहानसमेत गरेकाे छ । प्रदर्शनीको पोस्टर र टिकट सार्वजनिक भइसकेका छन् भने टिकटको मूल्य ३ सय हङकङ डलर तोकिएको छ।