हङकङ / हङकङ साहित्यिक साझा श्रृङ्खलाको आयोजनामा लेखिका जुनु रानाको नविनतम कृति 'लाहुरेनी सौन्दर्य' को साेमबार भव्य लोकार्पण गरिएकाे छ। हङकङस्थित एभरेष्ट होटलमा आयोजित एक विशेष समारोहका बीच उक्त कृतिको विमोचन गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला काउन्सिलर (District Councilor) अरुणा गुरुङ उपस्थित हुनुहुन्थ्यो।

लोकार्पित कृति 'लाहुरेनी सौन्दर्य' माथि विभिन्न विद्धान तथा साहित्यकारहरूले समीक्षात्मक टिप्पणी राख्नु भएकाे थियाे। समीक्षक राजकुमार राईले पुस्तकबारे बोल्दै यसमा राजनीतिक, सामाजिक र विशेषगरी महिलाका विविध पक्षहरूलाई सूक्ष्म रूपले चित्रण गरिएको बताउनुभयो। उहाँका अनुसार पुस्तकमा संस्मरण, समीक्षा, निबन्ध र विभिन्न विधाका आलेखहरू समावेश छन् जसले समाजको यथार्थ ऐना प्रस्तुत गर्दछ।
त्यसैगरी, डा. चुना थापा, जानु काङमाङ लिम्बु, डा. टीका राना र अनु राईले पनि कृतिको साहित्यिक पक्ष, विषयवस्तु र लेखिकाको लेखन शैलीमाथि प्रकाश पार्दै यो कृति नेपाली साहित्य र विशेषगरी प्रवासमा रहेका नेपाली पाठकका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो।
त्यसैगरी, नेपाल क्लब हङकङकी अध्यक्ष रीता गुरुङले विशेष अतिथिको रूपमा कृतिको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा उपस्थित पाहुनाहरूलाई पूर्णिमा शाहले स्वागत गर्नुभएको थियो।
धरानबाट प्रकासित हुने ब्लाष्ट दैनिकका सम्पादक देवेन्द्र कार्की, हङकङ नेपाली महासंघका अध्यक्ष नवीन सुहाङलगायतले जुनु रानाकाे लेखकिय काैशलकाे चर्चा  गर्दै शुभकामना व्यक्त गर्नु भयाे ।
रानाले यश अघि 'राताे नदि' कविता संग्रह प्रकासित गरिसक्नु भएकाे छ ।
बाग्लुङ घर भएकी रानाले हङकङ तथा नेपाललाई परिवेस बनाएर कृति लेख्नु भएकाे छ ।
हङकङको साहित्यिक माहोललाई उर्जा प्रदान गर्न हङकङ साहित्यिक साझा श्रृङ्खलाले निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
IMG-20260406-WA0018