हङकङ। वीर पुर्खाहरूको बलिदान र योगदानलाई स्मरण गर्दै आज हङकङकाे सान टिनस्थि गाेरखा समाधिस्थलमा 'पुर्खा दिवस' भव्य रूपमा सम्पन्न भएको छ। हङकङमा रहेका भूतपूर्व सैनिक, कूटनीतिक नियोग, शैक्षिक संस्था तथा विभिन्न सामाजिक संघ-संस्थाहरूको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा विशेष गरी बेलायती र भारतीय सेनामा कार्यरत रहेर विश्व शान्ति र सुरक्षाका लागि प्राण आहुति दिने गोर्खा सैनिक तथा अन्य सुरक्षाकर्मीहरूको सम्मान गरिएको थियो। गाेरखा सिमेट्रिज ट्रष्ट हङकङका सचिव तथा पुर्खा दिवसका संस्थापक देवराज राईले  पुर्खाकाे ईतिहास चर्चा गर्दै सहभागिहरूलाई स्वागत गर्नु भएकाे थियाे ।

ट्रष्टका अध्यक्ष अमाेद राईका अनुसार कार्यक्रममा ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ र इन्डियन गोर्खा भूतपूर्व सैनिक संघ, हङकङको सक्रिय सहभागिता रहेको थियो। त्यसैगरी, रोयल ब्रिटिश लिजन (हङकङ र चीन शाखा), ब्रिटिश महावाणिज्य दूतावास हङकङ, र बेइजिङस्थित ब्रिटिश दूतावासका सहायक रक्षा सहचारीको उपस्थिति रहेको थियो। नेपालको तर्फबाट महावाणिज्य दूतावासको समेत सहभागिताले कार्यक्रमको गरिमा बढाएको थियो।

ऐतिहासिक र सामाजिक संस्थाहरूको ऐक्यबद्धता:
Messenger_creation_6D5A5144-C285-4B08-9F13-E03F2431FB71
पुर्खाहरूको इतिहास र चिहानहरूको संरक्षणमा जुटेको 'गोर्खा चिहान ट्रस्ट' (Gurkha Cemetery Trust), कमनवेल्थ वार ग्रेभ कमिसन, द रोयल ग्रीन ज्याकेट्स्, र हङकङ भूतपूर्व सैनिक संघ जस्ता संस्थाहरूले पुर्खाहरूको पदचापलाई पछ्याउँदै श्रद्धाञ्जली अर्पण गरेका थिए।

यसैगरी, सिङ्गापुर प्रहरी बलका भूतपूर्व गोर्खा कन्टिन्जेन्ट, स्काउट एसोसिएसन अफ हङकङ, हङकङ एडभेन्चर कोर्प्स, र रोयल कमनवेल्थ सोसाइटीले पनि कार्यक्रममा ऐक्यबद्धता जनाएका थिए।

नयाँ पुस्ताको सहभागिता:
20260405_145253
कार्यक्रममा पाट हेउङ सेन्ट्रल प्राइमरी स्कूल, CMA चोई चेउङ कोक माध्यमिक विद्यालय, र क्यारिटास तुएन मुन मार्डेन फाउन्डेसन माध्यमिक विद्यालयका विद्यार्थीहरूको उपस्थिति उल्लेख्य थियो। यसले युवा पुस्तालाई आफ्नो इतिहास र पुर्खाको योगदानबारे जानकारी गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ।

हङकङ नेपालीज फेडेरेसन, नेपाल क्लब हङकङ, वी विल राइज फाउन्डेसन, र काडूरी इस्टेट लिमिटेड जस्ता संस्थाहरूले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै, युथ ग्लोबल नेटवर्क (ए फ्यु मोमेन्ट्स काम टिन) र हङकङ रोयल हङकङ पुलिस 'ओल्ड एण्ड बोल्ड' समूहको पनि सहभागिता रहेको थियो। युवा पुस्ताहरूले विगुल बजाएर  पुर्खाकाे सम्झना गराएका थिए ।

समाधिस्थलमा पुष्पगुच्छाकाे अर्पणसँगै ट्रष्टका अध्यक्ष अमाेद राईले सहभागीहरूलाई धन्यवाद ज्ञापनसँगै कार्यक्रम समापन गरिएकाे थियाे ।

Messenger_creation_2357A0CC-ECE5-4B8F-BBFA-D32508753555